कलैया । बाराको सुवर्ण गाउँपालिकामा चोरीका घटना बढ्दै गएका छन्। गएराति गाउँपालिका–३ पचगछियामा अज्ञात चोरहरूको समूहले एकै रात तीनवटा घरमा चोरी गरेको छ।
चोरहरूले घरको पर्खाल फुटाएर तथा सेन काटेर भित्र प्रवेश गरी नगद, सुनचाँदीका गरगहनालगायतका धनमाल चोरी गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी सुवर्ण गाउँपालिकाका नेता धरमवीर यादवका अनुसार पचगछियाका महिन्द्र प्रसाद यादवको घरबाट पेटी, अनुठा महतोको घरका तीनवटै कोठाबाट गरगहना तथा तपसी प्रसाद यादवको घरमा सेन काटेर चोरी भएको छ।
चोरी भएका घरमध्ये एक घरबाट मात्रै करिब दुई लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना र नगद चोरी भएको बताइएको छ। अन्य घरबाट भएको चोरी तथा कुल क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।
यता घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
यसअघि सुवर्ण गाउँपालिका–४ हर्दियास्थित शिवनाथ यादवको घरबाट गरगहना, कपडा र नगद चोरी भएको थियो। त्यस्तै, वडा नम्बर १ चरमोहना गाउँका चार जनाको घरमासमेत चोरी भएको रास्वपाका नेता यादवले जानकारी दिएका छन् ।
उनका अनुसार चार दिनअघि मात्रै सुवर्ण गाउँपालिका–३ घोठ गाउँमा चोरहरूको समूहले सेन काटेर तीनवटा घरबाट करिब पाँच लाख रुपैयाँ बराबरका गरगहना र नगद चोरी गरेको थियो।
गाउँपालिकाका विभिन्न वडामा लगातार चोरीका घटना दोहोरिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।



