बारा । बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा विजया दशमीको अवसरमा ८० वर्षमाथिका २२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
बघवन दुर्गा पूजा समितिले दुर्गा पूजाको अन्तिम दिन आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकलाई फूलमाला लगाउनुका साथै एक थान वस्त्र प्रदान गरी सम्मान गरेको हो।
कार्यक्रममा महिला तथा पुरुष ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो। उनीहरूको जीवन अनुभव, ज्ञान, संस्कार र समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ।
बघवन दुर्गा पूजा समितिका अध्यक्ष रमेश कुमार ठाकुरले ज्येष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति र अनुभवका स्रोत भएको बताउनुभयो। उहाँहरूको अनुभव, ज्ञान र संस्कारबाट नयाँ पुस्ताले प्रेरणा लिन सक्ने उहाँको भनाइ थियो।
अध्यक्ष ठाकुरले ज्येष्ठ नागरिकको सम्मान गर्नु भनेको समाजको अनुभव, संस्कार र योगदानको सम्मान गर्नु भएको उल्लेख गर्दै ज्येष्ठ नागरिकको सम्मान नै भगवान्को पूजा गरेसरह भएको बताउनुभयो।
उहाँले समाजमा ज्येष्ठ नागरिकप्रति माया, सम्मान र सद्भावको भावना विकास गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
विजया दशमीको अवसरमा आयोजित यस कार्यक्रमले ज्येष्ठ नागरिकप्रति आदरभाव प्रकट गर्नुका साथै नयाँ पुस्तामा सामाजिक सद्भाव, मानवीय मूल्य र संस्कारको सन्देश दिएको छ।
ज्येष्ठ नागरिकको सम्मान तथा संरक्षण परिवार र समाजको साझा जिम्मेवारी हो भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले बघवनमा आपसी एकता र पुस्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



