Sajhedari Daily
Latest News from Nepal

कलैयाको विभिन्न ठाउँमा बट सावित्री पर्व मनाइयो

रबिन्द्र प्रसाद साह/
आ-आफ्नो श्रीमान्‌काे दीर्घ जीवन तथा सुस्वास्थ्यको कामना गर्दै आज कलैया लगायत वरपरका नवविवाहित युवतीदेखि वृद्धासम्मले आज बटसावित्री पर्व मनाएका छन।

यो पर्व मनाउन सुन्दर परिहनमा सजिएका महिलाहरुले नजिकको बटवृक्षलाई सफा सुग्घर पारेर रातो र पहेलो धागाले वरिपरि घेरा हालेर सविधि पूजा पाठ गरेका थिए।

प्रकृतिपूजक मिथिला सभ्यतामा बट (बर) को रूखलाई जेठको औंसीका दिन विशेष पूजा गर्ने चलन छ । जसलाई बट सावित्री पर्व भनिन्छ । बटसावित्री पूजा गर्न बिहानैदेखि विवाहित महिलाको भीड बटवृक्षमुनि लाग्ने गर्दछ।

प्रत्येक वर्ष जेठ औंसीको दिन मनाइने यो पर्व नव विवाहिताहरूका लागि विशेष महत्त्वको रुपमा रहेको  छ । बटवृक्षलाई मैथिलीमा “बरको गाछ” पनि भनिन्छ । मैथिलीमा श्रीमान्लाई “बर” पनि भनिन्छ । मिथिला संस्कृतिमा श्रीमानलाई देवताका रूपमा पूजा गर्ने पुरातन परम्परा अनुसार नै यो पर्व मनाउने गरिन्छ भन्ने भनाई ब्रतालु महिलाहरुको रहेको छ।

पुरानो किवदंतीका अनुसार “सावित्रीले आफ्नो मृत पति सत्यवानको पुनर्जीवनका लागि बटवृक्षकै फेदमा पूजा गरेकी थिइन् । बटवृक्षको पूजापछि सत्यवानले पुनर्जीवन प्राप्त गरेको भन्ने पौराणिक मान्यता पाइन्छ । सावित्री आफ्ना श्रीमानको दीर्घजीवनका लागि ब्रत बसेको दिन प्रत्येक वर्ष बटसावित्री पर्व मनाइने गरिएको चलन चल्दै आएको छ।”

आधुनिकताको प्रवेशसँगै केही पारम्परिक पर्व लोप हुने अवस्थामा पुगे पनि यस पर्व प्रतिको आकर्षण अझै बढ्दै गैरहेको छ । सुरु–सुरुमा ब्राह्मण, कायस्थजस्ता केही जातिले मात्र आयोजन गर्ने बटसावित्री पर्व अचेल लगभग सबै जातिका महिलाले मनाउन थालेका छन् भन्ने जानकारी एक ब्रतालु महिला सन्ध्या साहले जानकारी गराइन।