नेपाली चलचित्रको परिवेश बदल्ने दृष्टिकोण लिएर दुई दशक पछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ नेपाली कथानक चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” घोषणा गरेका छन्। उक्त चलचित्र कार्तिक ३० गते प्रदर्शनमा आउने उनले जानकारी दिएका छन्।
उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि उनी प्रशंसित रहेका छन्। गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली कथानक चलचित्र जगतमा तरंग ल्याउन तयार रहेका छन् ।
गौचन र नकिमउद्दीन मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ।
गौचनको सन २०२५ को भिजनमा नेपाली सिनेमालाई एक फस्टाउँदो,विश्वव्यापी रूपमा मान्यता प्राप्त उद्योगमा रूपान्तरण गर्ने लक्ष्य रहेको छ। नेपालको तराई क्षेत्रको जीवन्त पृष्ठभूमिमा आधारित यस ब्यानर अन्तर्गतको पहिलो चलचित्र,मिसिङः केटी हराएको सूचना,यही दृष्टिकोणको प्रमाण रहेको हो।
यस चलचित्रमा पहाडी समुदायका युवती र मधेसी समुदायकी युवाको रहनसहन र मेलमिलापको बारेमा कथा बुनिएको छ।
यस चलचित्रका लेखक/निर्माता/निर्देशक दीपेन्द्र गौचनले चलचित्र मिसिङ्गको निर्माणकालागि पाएको प्रेरणाको बारेमा बताएका छन्। नेपालमा धेरैजसो फिल्म पहाड र हिमाली क्षेत्रमा बनाइएको आफुले देखेको जनाए ।
यी क्षेत्रहरू प्रतिष्ठित भए पनि तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन आपूmले चाहेको उनले जनाए । चलचीत्र मनको नजिक रहेको उनले जनाए । यसले पारम्परिक र जातीय सीमानाहरू पार गर्ने,विविधताको बीचमा समानता खोज्ने कुराको प्रतिनिधित्व गर्ने गौचनले विश्वास व्यक्त गरे ।
चलचित्रमा सीताको भूमिकामा सृष्टिश्रेष्ठ (जस्सीता/जेसी)को अभिनय रहेको छ। रामको भूमिकामा नाजिर हुसेन (रामबरन/र्याम्बो) को भूमिका रहेको छ। विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह(क्यामियो) टिकट बिक्रेताको भूमिकामा रहेका छन्।यस बाहेक जनकपुरबाट थप स्थानीय कलाकारहरूले विभिन्न भूमिकामा आफ्नो अभिनव प्रदर्शन गरेका छन्।
चलचित्रको कार्यकारी निर्मातामा नकिमउद्दीन,छायांकनमा अमर महर्जन,सम्पादनमा निमेश श्रेष्ठ,कला निर्देशनमा अक्की थेक्पा,साउण्ड डिजाइनमा श्रावल आरपी र म्यूजिक कम्पोजरका रुपमा क्रिस मसन्ड रहेका छन्।


