कोल्हवी । बिनिता चौधरी / बाराको कोल्हवी नगरपालिकामा अवैध रूपमा भित्र्याइएका भारतीय कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।
नेपाल सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प कोल्हवीका प्रमुख रामयोधया महतोको कमान्डमा खटिएको प्रहरी टोलीले सोमबार कोल्हवी नगरपालिका–१ मठवाबाट अवैध रूपमा ल्याइएका कुखुराका चल्ला बरामद गरेको हो।
प्रहरी टोलीले तीनवटा साइकलमा लोड गरी ल्याइएका २४ कार्टुन भारतीय कुखुराका चल्ला नियन्त्रणमा लिएको जनाएको छ। बरामद गरिएका चल्लाको अनुमानित बजार मूल्य करिब २ लाख ४० हजार रुपैयाँ रहेको बताइएको छ।
बरामद गरिएका चल्लालाई सशस्त्र प्रहरी बेस क्याम्पको हाताभित्र खाल्डो खनी स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहबरमा नष्ट गरिएको हो। बरामद गरिएका चल्लाहरूको पशु क्वारेन्टाइनसम्बन्धी आवश्यक चेकजाँच तथा स्वास्थ्य परीक्षणसमेत नभएको बताइएको छ।


