अत्याधिक गर्मीले मध्यतराईको जनजीवन कष्टकर गर्मीले बारा,पर्सा र रौतहटमा विद्यार्थी भए बेहोस

राम मण्डल
323 पाठक संख्या

कलैया : मध्ये तराईका जिल्लाहरुमा केही दिनदेखि अत्याधिक गर्मी बढेको छ। गर्मीले मधेस प्रदेशका बारा,पर्सा सहित ८ वटै जिल्लामा जनजीवन कष्टकर बनेको छ ।

गर्मीका कारण बारा,पर्सा र रौतहका विद्यालयहरुको पठनपाठन प्रभावित हुदै गएको छ। गर्मीका कारण दिउँसोको समयमा सञ्चालनमा रहेका पर्साका विद्यालयहरुमा विद्यार्र्थीहरुलाई बढी प्रभाव परेको छ । विद्यालयमा पढने स–साना बालबालिकाहरुलाई गर्मीले पढाईमा समस्या भएको छ ।

अत्याधिक गर्मीका कारण पर्साको पोखरिया नगरपालिकामा रहेको जिल्ला उच्चाँगल उच्च माविमा अध्ययनरत रहेका आठ जना विद्यार्र्थीहरु सोमबार गर्मीका कारण बेहोस भएका छन्। गर्मी सहन नसकेर कक्षाकोठामा नै विद्यार्थी बेहोस भएको बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश रौनियारले जानकारी दिएका हुन्।

उनीहरुलाई पोखरियास्थित प्रादेशिक अस्पतालमा भर्ना गरि उपचार भईरहेको उनले जनाएका हुन्। विद्यालयमा विद्यार्थीको चाप धेरै रहेकोले अत्याधिक गर्मीमा पंखाले पनि काम नगर्दा विद्यार्थीहरु बेहोस भएको रौनियारले बताए । गर्मीका कारण बिधार्थीहरु बेहोस हुन थालेपछि पोखरिया नगरपालिकाले सोमबार सूचना जारी गरेको छ।

नगरपालिकामा रहेका सबै बिधालयहरुमा ८ गतेदेखि बिहान ६ बजेदेखि कक्षा सञ्चालन गर्न सूचना जारी गरेको हो । यसैगरी बढि गर्मीका कारण बाराका विभिन्न पालिका अन्तरगतका विद्यालयहरुमा पनि बालबालिकाहरु गर्मी सहन नसकेर विद्यार्थीहरु वेहोस भएका छन ।

गर्मीकै कारणले बाराको कलैया उपमहानगरपालिका,जीतपुरसिमरा उपमहनगरपालिका,पर्साको वीरगञ्ज महानगरपालिकाले सवै सार्वजनिक तथा निजी विद्यालयहरु दुई दिन पठनपाठन बन्द गर्न निर्देशन गरेको छ ।

सोमबार पालिकाहरुले सूचना जारी गरेर सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन मँगलबार र बुधबार गरि दुईदिन स्थगित गर्न जनाएको छ । असोज ८ र ९ गते प्रशासनिक कार्य सुचारु गर्ने गरि विद्यार्थीहरुलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठन स्थगित गर्न जानकारी गराएको छ ।

यता पर्सागढी नगरपालिकाले पनि असोज ८ गतेदेखि १६ गतेसम्म नगरपािलकाका सबै बिधालयहरुमा बिहान साढे ६ देखि साढे ११ बजेसम्म पठनपाठन गराउन सूचना जारी गरेको छ। नगरपालिकाले सूचना जारी गरि नगरपालिकाका सबै बिधालयहरुलाई पठनपाठनको समय परिबर्तन गर्न भनेको हो ।

पर्साकै बिन्दबासिनी गाउँपालिका,पकहा मैनपुर र जिरा भवानी गाउँपालिकाले पनि पालिका अन्र्तगतका विद्यालयहरुमा बिहानी सत्रमा कक्षा सञ्चालन गर्न सूचना जारी गरिसकेको छ।

यसैगरी रौतहटमा पनि अत्याधिक गर्मीले विद्यार्थी वेहोस भएका छन । विभिन्न पालिकाहरुमा रहेका विद्यालयका विद्यार्थी सोमवार बेहोस भएको जनाईएको छ । रौतहटका पनि विभिन्न पालिकाहरुले सूचना जारी गरेर दुई दिन विद्यालय बन्द गर्न सूचना जारी गरेका छन ।

Leave a review

This will close in 0 seconds