तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

रासस
542 पाठक संख्या

काठमाडौँ : काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ ।

पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण,तोडफोड,आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार एक सय पाँच जनालाई पक्राउ गरिएको थियो भने आज थप छ जना पक्राउ परेका हुन् ।

प्रहरी परिसर काठमाडौँले २५,प्रहरी वृत्त बानेश्वरले २५,प्रहरी वृत्त गौशालाले नौ,प्रहरी प्रभाग कोटेश्वरले ४६,प्रभाग गोङ्गबुले तीन,प्रहरी वृत्त बालाजुले एक,प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त घटनामा दुई जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५,सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएका उल्लेख गर्नुभयो । तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

तोडफोड,आगजनी र लुटपाट

प्रवक्ता बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ । विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ ।

“प्रहरीतर्फ छ,सरकारी कार्यालयको चार,विवरण नखुलेको छ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित छ वटामा तोडफोड भएको छ । केही गाडी जलाइएको छ”, उहाँले भननुभयो ।

Leave a review

This will close in 0 seconds