जीतपुर । शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका कमिटीले पाँच जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
विजयादशमी, दीपावली, छठ तथा नेपाल संवत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो। सम्मानित विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँ नगद र कदरपत्र प्रदान गरिएको नगर कमिटीले जनाएको छ।
कक्षा १२ तर्फ संस्थागत विद्यालयबाट शुभारम्भ एकेडेमी सिमराका श्रवणकुमार मिश्र सम्मानित भएका छन्। सामुदायिक विद्यालयतर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगन्जकी रनिता रुम्बा र जनता माध्यमिक विद्यालय रजघट्टाका पंकजकुमार यादवले सम्मान प्राप्त गरेका छन्।
त्यसैगरी, एसईईतर्फ संस्थागत विद्यालयबाट ब्राइटर एकेडेमीका अंकित साह र सामुदायिक विद्यालयबाट जनता माध्यमिक विद्यालय रजघट्टाका मनिष पनेरु सम्मानित भएका छन्।
यसैबीच, खेलकुदमार्फत जीतपुरसिमराको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन योगदान गरेकी कबड्डी खेलाडी गङ्गा चौलागाईंलाई पनि १० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको छ। जापानमा आयोजित एसियन गेम्समा सहभागिता जनाइसकेकी चौलागाईं व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि अर्को कार्यक्रममा सम्मान गरिने नगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाहले जानकारी दिए।


