मुख्यमन्त्री सोनलद्वारा सुशासन र गणतन्त्र संस्थागत गर्न आग्रह

रञ्जन यादव
286 पाठक संख्या

बारा : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आग्रह गरेका छन्। उनले देशमा सुशासन कायम गर्नुपर्ने बताएका छन्। नेपाल संवत् ११४६ को प्रारम्भका अवसरमा सिमरा नेवाः खलले बुधबार बाराको सिमरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले यस्तो बताएका हुन्।

उनले जनताको अधिकार सम्पन्न व्यवस्थालाई संस्थागत गरेर मात्र देशले समृद्धिको बाटो समात्न सक्ने बताए। उनले गणतन्त्रले नेपाली जनतालाई स्वाभिमानका साथ बाँच्ने वातावरण प्रदान गरेको उल्लेख गरे। उनले लोकतन्त्र र गणतन्त्र जगेर्ना गर्न सकिए मात्र समुन्नत नेपालको कल्पना सम्भव हुने विचार व्यक्त गरे। जेनजी आन्दोलनपछि देश गम्भीर अवस्थामा पुगेको उनले जनाए।

आन्दोलनले उठाएका भष्ट्राचार अन्त्य र सुशासनका मागहरू जनताको वास्तविक चाहना भएको उनले बताए। ती मागहरूलाई गणतान्त्रिक ढाँचा भित्र राख्दै अगाडि बढ्न आवश्यक रहेको उनले बताए। मधेशमा बनेको परिवर्तनकारी गठबन्धन सरकार जनतालाई छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनेतर्फ अग्रसर रहेको उनले जनाए।

भष्ट्राचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर वर्तमान सरकार अघि बढिरहेको उनले स्पष्ट पारे। कार्यक्रमकै क्रममा सिमरास्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिले मुख्यमन्त्री सोनललाई बधाई ज्ञापन गर्दै पर्यटन प्रवद्र्धनका लागि निर्माणाधीन पार्कमा बजेट विनियोजनको माग गरेको थियो।

Leave a review