बारा-२ : सुवर्ण गाउँपालिकाको कवहीमा नेपाली कांग्रेसको सम्पर्क कार्यालय उद्घाटन

संदिप प्रसाद यादव
365 पाठक संख्या

कलैया : बारा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत सुवर्ण गाउँपालिकाको वडा नम्बर २ कवहीमा नेपाली कांग्रेसको निर्वाचन प्रचार-प्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका भैयाराम यादवले आज रिबन काटी उक्त सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार यादवले घरदैलो अभियानका क्रममा विकास निर्माण, पूर्वाधारको अवस्था तथा जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा मतदाताहरूले जिज्ञासा र गुनासा व्यक्त गरिरहेको बताए। लोकतन्त्र स्थापना भएको लामो समय बितिसक्दा पनि जनताले अपेक्षित अनुभूति गर्न नपाएको मतदाताहरूको गुनासो रहेको उनले बताए । मतदाताको संख्याअनुसार सुवर्ण गाउँपालिकासहित पाँचवटै पालिकामा एम्बुलेन्स सेवाको आवश्यकता रहेको उनले बताए ।

मतदातासँग प्रत्यक्ष संवादका क्रममा दैनिक समस्या, अधुरा विकास आयोजना तथा युवाहरूको रोजगारी संकटबारे गहन छलफल भइरहेको उम्मेदवार यादवले जानकारी दिए। शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन संघीय संसदमा प्रभावकारी आवाज उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे। मतदातालाई ‘रुख’ छापमा मतदान गर्न आग्रह गर्दै उनले जनताका मुद्दालाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता गरे ।

सुवर्ण गाउँपालिकाका सभापति रुपनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा सभापति अकल राउत अहिर,वडा नम्बर २ का वडा सभापति डा. श्यामबाबु यादव, वडा नम्बर ५ का वडा सभापति ओमबाबु यादव, युवा नेता सतेन्द्र यादव, रामनरेश यादवलगायत पार्टीका नेता तथा कार्यकर्ताहरू लगायतको उपस्थिति रहेको थियो।

Leave a review