पर्सा : पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूले विरोध प्रकट गरेका छन्। गाउँपालिका अध्यक्ष सुरेश प्रसादको काम–कारबाही र व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै कर्मचारीहरूले बिहीबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका हुन्।
जारी विज्ञप्तिमा अध्यक्ष प्रसादले कानुनविपरीत तजबिजका आधारमा स्वार्थपूर्ण काम गर्न दबाब दिने, इन्कार गर्दा धम्की दिने तथा गालीगलौज गर्ने गरेको आरोप लगाइएको छ। गैरकानुनी काम गर्न अस्वीकार गर्दा भौतिक आक्रमणको दुरुत्साहन तथा प्रयाससमेत भएको कर्मचारीहरूको गुनासो छ।
कर्मचारीहरूका अनुसार बुधबार साँझ ४ देखि ५ बजेसम्म अध्यक्ष प्रसादले आफ्नै कार्यकक्षमा आसेपासेहरूको उपस्थितिमा केही कर्मचारीलाई बोलाएर धम्कीपूर्ण र अमर्यादित व्यवहार गरेका थिए। उक्त घटनाप्रति सम्पूर्ण कर्मचारीहरूले घोर भत्र्सना गरेका छन्।
राज्यका जिम्मेवार राष्ट्रसेवकमाथि कार्यस्थलमै विनाकारण दुव्र्यवहार हुँदा आफूहरू असुरक्षित महसुस गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ। नगरसभाबाट पारित नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने जिम्मेवारी प्रचलित कानुनअनुसार कर्मचारीहरूको भए पनि अध्यक्षबाट पटक–पटक दुव्र्यवहार हुने गरेकोले सहज कार्य वातावरण नरहेको उनीहरूको आरोप छ।
कर्मचारीहरूले कार्यालयमा सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न स्थानीय कार्यपालिका, स्थानीय प्रशासन तथा सम्बन्धित सरोकारवालासँग पहल गर्न आग्रह गरेका छन्। यस्ता गतिविधि पुनः दोहोरिएमा कार्यालयबाट प्रवाह हुने सेवा अवरुद्ध गर्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ। यस विषयमा गाउँपालिका अध्यक्ष सुरेश प्रसादसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।









