जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ मा रहेको एक हार्डवेयर पसलबाट करिब ७ लाख रुपैयाँ बराबरको फलामे डण्डी ठगी भएको घटना सार्वजनिक भएको छ। सिमराका सुदिप पौडेलले सञ्चालन गर्दै आएको माथ्लो बडहर्वास्थित यू एण्ड के हार्डवेयरबाट फत्तेपुरतर्फ पठाइएको फलामे डण्डी ठगीमार्फत गायब भएको हो।
हार्डवेयर सञ्चालक पौडेलका अनुसार गत फागुन ६ गते बिहान ट्रक लिएर आएका एक व्यक्तिले जीतपुरसिमरा उपमहानगरपालिका–१२ फत्तेपुरमा घर निर्माण भइरहेको भन्दै डण्डी र सिमेन्ट आवश्यक रहेको जानकारी दिएका थिए। ती व्यक्तिले करिब १० लाख रुपैयाँभन्दा बढीको निर्माण सामग्री आवश्यक पर्ने बताउँदै ९ लाख रुपैयाँ बराबरको चेक दिएका थिए।
ग्राहकले सिमेन्ट र डण्डी एकैपटक बिल काटेर लैजाने बताउँदै सुरुमा डण्डी मात्रै ट्रकमा लोड गरेर लगेका थिए। सिमेन्ट भने साँझतिर लिन आउने बताएका थिए। त्यसपछि करिब ७ लाख रुपैयाँ बराबरको फलामे डण्डी ट्रकमार्फत पठाइएको थियो।
पौडेलका अनुसार सामान लगेको व्यक्ति सुरुमा नियमित सम्पर्कमा नै रहेको थियो। उनले ट्रक बिग्रिएको भन्दै विभिन्न बहाना बनाउँदै फोटोसमेत पठाउने गरेका थिए। तर पछि पटक–पटक ढिलाइ गर्दै सम्पर्क कम हुँदै गयो। यसैबीच शुक्रबार आफू चेक साट्न बैंक जान लागेको जानकारी गराउँदा उक्त व्यक्तिले नगदै रकम लिएर आउने भन्दै बैंक नजान आग्रह गरेको पौडेलले बताए। तर शनिबारदेखि भने उनको फोन नै स्विच अफ भएपछि आफू ठगिएको शंका भएको पौडेलले बताए।
त्यसपछि आइतबार बैंक पुगेर चेक साट्ने प्रयास गर्दा बैंकले चेकमा रहेको हस्ताक्षर नमिलेको र खातामा रकम पनि नभएको जानकारी दिएको थियो। थप अनुसन्धान गर्दा उक्त चेक सिन्धुलीका आयुष परियारको नाममा रहेको र उनले दुई वर्षअघि नै चेक हराएको भन्दै बैंकमा निवेदन दिएको तथ्य खुलेपछि ठगी भएको स्पष्ट भएको पौडेलले बताए। नयाँ व्यवसाय सुरु गरेका पौडेलले ठूलो ग्राहक ठानेर बिल नकटाई तथा ढुवानी साधनको नम्बरसमेत नराखी सामान पठाउनु आफ्नो गल्ती भएको स्वीकार गरेका छन्।
घटनामा संलग्न व्यक्तिको फोन नम्बर तथा सामान लिन आएका व्यक्तिहरूको फोटो आफूसँग सुरक्षित रहेको र सोही दिन इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिएको पौडेलले जानकारी दिए। चुनावका कारण तत्काल अनुसन्धान अघि बढ्न नसकेको भन्दै निर्वाचनपछि आवश्यक कारबाही हुने जानकारी प्रहरीले दिएको उनको भनाइ छ।

