बारामा एसईईका लागि ३० परीक्षा केन्द्र, १० हजार भन्दा बढी विद्यार्थी सहभागी हुने

साझेदारी डेलि
281 पाठक संख्या
सांकेतिक तस्वीर

कलैया : बारा जिल्लामा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि ३० वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ। जिल्लाभरका १५५ विद्यालयका विद्यार्थीहरूले यी केन्द्रबाट परीक्षा दिने भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई बाराका इकाइ प्रमुख अशोक कुमार रौनियारले शुक्रबार सूचना जारी गर्दै चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षाका लागि केन्द्र निर्धारण गरिएको जानकारी दिए।

उनका अनुसार यस वर्ष बाराबाट साधारण नियमिततर्फ ८ हजार ३ सय ७७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। त्यसैगरी, २०८० र २०८१ को ग्रेड वृद्धितर्फ १ हजार ९ सय ३३ जना र २०७९ को ग्रेड वृद्धितर्फ ६६ जना परीक्षार्थी रहेका छन्।

प्राविधिक धारतर्फ नियमित ३ सय ७५ जना र ग्रेड वृद्धितर्फ ६३ जना गरी ४ सय ३८ जना सहभागी हुनेछन्। यससँगै जिल्लामा कुल १० हजार ८ सय १३ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन्। यस वर्ष एसईई परीक्षामा बाराका १०२ सामुदायिक तथा ५३ संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुने जनाइएको छ।

परीक्षा व्यवस्थापनका लागि ३० केन्द्राध्यक्ष, ५८ सहायक केन्द्राध्यक्ष, ५२६ निरीक्षक, ९५ परीक्षा सहायक, २०० कार्यालय सहयोगी र ४५० सुरक्षाकर्मी गरी कुल १ हजार ३ सय ५९ जना जनशक्ति परिचालन गरिने इकाईले जनाएको छ।

जिल्लामा एसईई परीक्षा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको र परीक्षा मर्यादित तथा व्यवस्थित रूपमा सञ्चालन गरिने शिक्षा विकास तथा समन्वय इकाई बाराले जनाएको छ।

Leave a review

This will close in 0 seconds