बारा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरेका छन्।
बाराको सिम्रौनगढ नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढ परिसरमा एफसिडिओ–युके बेलायत सरकारको आर्थिक सहयोग तथा युनाइटेड नेशन्स अफिस फर प्रोजेक्ट सर्भिस (युएनओपिएस)द्वारा सञ्चालित एसजेपी परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त भवनको प्रहरी महानिरीक्षक कार्कीले रिबन काटेर तथा शिलालेख अनावरण गर्दै उद्घाटन गरेका हुन्।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले समुदाय र प्रहरीबीचको सहकार्यबाट मात्रै समाज अगाडि बढ्न सक्ने बताएका छन्। “समुदायले नै प्रहरीको सिर्जना गरेको हो,” उनले भने, “नागरिकसँग प्रहरी र प्रहरीसँग नागरिक जोडिने दुवै पक्षको सहकार्य आवश्यक छ।”
उनले नवनिर्मित भवन सिम्रौनगढवासीको सम्पत्ति भएकाले यसको संरक्षण गर्ने जिम्मेवारी स्थानीय समुदायको पनि रहेको बताए। प्रहरी कार्यालयमा आउने पीडितहरूसँग परिवारका सदस्यसरह व्यवहार गर्दै उनीहरूको समस्या सुन्न र बुझ्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
आईजीपी कार्कीले घरेलु हिंसा तथा सामाजिक हिंसा अन्त्य गर्न घर, विद्यालय र समाजका सबै पक्षले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। “भवनजस्तै सुन्दर भावना राखेर काम गर्नुस्, पीडितका काममा ढिलासुस्ती नगर्नुस्,” उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए।
उनले मुद्दा वा विवादसँग सम्बन्धित व्यक्तिले जुनसुकै भाषामा आफ्ना समस्या प्रहरीसमक्ष राख्न सक्ने उल्लेख गर्दै न्याय प्रक्रियामा अनावश्यक प्रभाव पार्ने गतिविधि नगर्न चेतावनी दिए। उजुरी लेख्न नसक्ने पीडितहरूको निवेदन प्रहरीले नै लेखिदिनुपर्ने समेत उनले बताए।
आपदविपद सम्बन्धी सूचना प्राप्त गर्न “पुलिस एप” डाउनलोड गर्न आग्रह गर्दै उनले उजुरी तथा निवेदनको जानकारी आगामी दिनमा एसएमएस र पुलिस एपमार्फत उपलब्ध गराइने जानकारी दिए। साथै सीमावर्ती क्षेत्रमा तस्करी शून्यमा झार्न निर्देशन दिँदै लागूऔषधसम्बन्धी गतिविधिबारे जानकारी दिन सर्वसाधारणसँग आग्रह गरे।
युएनओपिएसका सिनियर इन्जिनियर शिशिर उपाध्यायका अनुसार भवन निर्माणमा भ्याटसहित ३ करोड ५१ लाख रुपैयाँभन्दा बढी लागत लागेको छ। भवनमा महिला तथा अपांगमैत्री संरचना, पीडित कक्ष, कार्यालय प्रमुख कक्ष, बैठक कक्ष, प्रशासन कक्ष, महिला आवास तथा २४ घण्टा सोलारमार्फत विद्युत उपलब्ध हुने व्यवस्था गरिएको छ।
कार्यक्रममा युएनओपिएसका पूर्वाधार म्यानेजर शिशिर उपाध्यायले भवन प्रहरी महानिरीक्षक कार्कीलाई हस्तान्तरण गरेका थिए भने कार्कीले उक्त भवन प्रहरी निरिक्षक कृष्णदेव प्रसाद साहलाई हस्तान्तरण गरेका थिए।
सो अवसरमा निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि प्रशाम्त श्रेष्ठ,युएनओपिएसका कन्स्ट्रकसन इन्जिनियरिङ टेक्नेसियन असिस्टेन्ट अभिषेक कार्की,साराका समाजिक परिचालक अनिश कुशवाहा,मनोविमर्शकर्ता रेनु कर्ण,सिम्रैनगढका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह,प्रहरी सहायक निरीक्षक बिरेन्द्र कुसियैत यादव र प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्र साहलाईलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। प्रहरी महानिरीक्षक कार्कीले भवन परिसरमा वृक्षारोपण समेत गरेका थिए।
उक्त कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार,पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह,मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया,जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवर,राष्ट्रिय अनुसन्धानका उप-निर्देशक सरोज निरौला,श्री रिपुमर्दन गणका प्रमुख सेनानी गिरिराज गौतम,सामुदायिक प्रहरी बाराका सचीव जंग बहादुर यादव,जिल्ला सरकारी वकिल कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेत समाजसेवी,शिक्षक,स्थानीयबासी तथा सञ्चारकर्मीहरुको उपस्तिथि रहेको थियो ।
सो कार्यक्रममा स्वागत युएनओपिएसका अपरेसन कोअडिनेटर एवं पुर्व प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपानेले गरेका थिए भने संचालन ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक रन्जन मिश्रले गरेका थिए ।


