बलरा नगरपालिकाको तालिम घोटाला: बयान फेरेपछि सरकारी साक्षी दुर्गा भण्डारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

साझेदारी डेलि
103 पाठक संख्या

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीले बयान फेरेको घटनासम्बन्धी भ्रष्टाचार मुद्दामा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ का दुर्गा भण्डारी (थापा) विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल सरकार वादी र रामा शंकर प्रसाद कुशवाहासमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकी भण्डारीले अदालतमा दिएको बकपत्र अनुसन्धानका क्रममा दिएको बयान र आरोप मागदाबी विपरीत रहेको पुष्टि भएको हो।

अनुसन्धानका क्रममा सहयोग गरेको आधारमा भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायमा छुट दिई सरकारी साक्षी बनाइएको थियो। तर उनले २०८३ वैशाख २ गते विशेष अदालतमा बकपत्र गर्दा पूर्व बयान विपरीत अभिव्यक्ति दिएको आयोगको ठहर छ।

अनुसन्धानबाट सर्लाहीको बलरा नगरपालिकाले सञ्चालन गरेको “किशोरीहरूको लागि खेलौना बनाउने तालिम” कार्यक्रममा अनियमितता भएको खुल्न आएको छ। उक्त तालिममा मुख्य प्रशिक्षकका रूपमा संलग्न भई ३० दिनको तालिममध्ये केवल ५ दिन मात्र प्रशिक्षण दिएर पनि ३० दिन नै सञ्चालन भएको देखाउने झुट्टा कागजात तयार गर्न सहयोग गरेको आरोप भण्डारीमाथि छ।

यस कार्यमार्फत गैरकानुनी लाभ लिनुका साथै सार्वजनिक संस्थालाई हानि पुर्‍याउने बदनियत रहेको आयोगले जनाएको छ। सोही आधारमा भण्डारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) तथा दफा २२ बमोजिम कसुर गरेको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले मुख्य कसुरदारविरुद्ध ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो कायम गर्दै सोही ऐनअनुसार सजायको मागदाबी लिई आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका हुन्।

Leave a review

This will close in 0 seconds