‎‘सम्झौता भइसकेको विषयलाई तोडमोड गरेर प्रचार´- चिकित्सक संघमाथि प्रेस युनियन बाराको कडा प्रहार

संदिप प्रसाद यादव
77 पाठक संख्या

कलैया, ८ असार।
‎नेपाल प्रेस युनियन बारा शाखाले नेपाल चिकित्सक संघ, नारायणी शाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिलाई तथ्यहीन, भ्रामक, एकपक्षीय तथा पत्रकारको चरित्रहत्या गर्ने नियतबाट प्रेरित भएको आरोप लगाएको छ।

‎युनियनका अध्यक्ष श्यामबाबु प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा पत्रकार श्यामबाबु प्रसाद यादव र डा. चन्द्रभूषण यादवबीच उत्पन्न विवाद जिल्ला प्रहरी कार्यालय बारामा दुवै पक्षको उपस्थितिमा आपसी सहमतिबाट समाधान भइसकेको स्पष्ट गरिएको छ।

सहमतिका क्रममा डा. चन्द्रभूषण यादवले आफ्नो व्यवहारप्रति आत्मालोचना गर्दै क्षमायाचना गरेका थिए।

‎विज्ञप्तिअनुसार सहमतिकै आधारमा चिकित्सकको प्रतिष्ठामा थप असर नपरोस् भन्ने उद्देश्यले Sajhedari Daily को फेसबुक अनलाइन पाेटल पेजमा प्रकाशित अडियो सामग्री पनि हटाइएको थियो। यति हुँदाहुँदै पनि समाधान भइसकेको विषयलाई फेरि एकपक्षीय रूपमा सार्वजनिक गर्दै पत्रकारमाथि आरोप लगाउनु दुर्भावनापूर्ण र गैरजिम्मेवार कदम भएको युनियनको ठहर छ।

‎प्रेस युनियन बाराले वास्तविकता लुकाएर पत्रकारको पेशागत प्रतिष्ठामाथि आक्रमण गर्ने, जनमानसमा भ्रम फैलाउने तथा प्रेस स्वतन्त्रताको मर्ममाथि प्रहार गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।

‎युनियनले सम्बन्धित सबै पक्षलाई तथ्यमा आधारित अभिव्यक्ति दिन, अपुष्ट तथा भ्रामक सूचना सार्वजनिक नगर्न र कुनै असहमति भए कानुनी तथा संस्थागत प्रक्रियाबाट समाधान खोज्न आग्रह गरेको छ।

‎साथै, भविष्यमा यस्ता एकपक्षीय र भ्रामक प्रचार दोहोरिए पत्रकारको सम्मान, प्रेस स्वतन्त्रता तथा संस्थागत मर्यादाको रक्षा गर्न आवश्यक सबै कानुनी र संस्थागत कदम चालिने चेतावनी पनि नेपाल प्रेस युनियन बारा शाखाले दिएको छ।

Leave a review

This will close in 0 seconds