कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको एक बिधालयमा भवन निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै चार जना उपर विशेष अदालत काठमाण्डौंमा शुक्रबार आरोपपत्र दायर गरेको छ। अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएका हुन्। एक विद्यालयमा आठ कोठे भवन निर्माणमा लागत भन्दा बढी ११ लाख रुपैयाँ खर्च गरेर हानी नोक्सानी पुर्याएको भन्दै आरोपपत्र दायर गरिएको हो।
रौतहटको राजपुर नगरपालिका वडा नं. ५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयका प्रधानाध्यापक समेतले विद्यालयको टेण्डर तथा भवन निर्माण गर्दा अनियमितता गरेको भन्ने समेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको हो। राजपुर नगरपालिकाको २०७५ फागुन ३ गतेको निर्णयानुसार राजपुर नगरपालिका वडा नं. ५ स्थितजनता (नमूना) माध्यमिक विद्यालयको नमूना विद्यालय विकास कार्यक्रमको लागि बहुवर्षीय गुरूयोजना स्वीकृत गरी सो विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन भएको थियो।
परामर्शदाता डिबी मल्टी ईन्जिनियरिङ्ग कन्सलटयान्ट प्राली नयाँ बानेश्वर काठमाण्डौंबाट प्रि–स्कुल ब्लकको आठ कोठे भवन निर्माण कार्यको लागि तयार भएको लागत अनुमान रू.९७ लाख ३७ हजार ९९४ रूपैया ६२ रहेकोमा उक्त निर्माण कार्यको लागि संशोधित लागत अनुमान रू.१ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ ४० भएको भनी विद्यालयमा गठन गरिएको भौतिक संरचना निर्माण समितिबाट भवन निर्माणको कार्य गराईएको पाइएको छ।
उक्त भवन निर्माण कार्यमा प्राविधिक बिल अनुसार जम्मा रू.१ करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँ १० रकम बराबरको मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सो मूल्याङ्कित रकमलाई खर्च भैसकेको भनी लागत अनुमान बमोजिम नपुग रकम माग गर्ने र अन्तिम बिलमा मूल्याङ्कन हुन बाँकी रहेका कार्यको रकम माग गर्ने समेतको निर्णय भएको देखिएको छ।
भौतिक संरचना निर्माण समितिको २०७७ माघ १६ को बैठकबाट गरे गराएको देखिएकोले आयोगबाट उक्त निर्माण कार्यको स्थलगत नापजाँच गर्दा एघार लाख दश हजार एक सय चौध रूपैयाँ सन्ताउन्न पैसा बराबरको बढी निर्माण कार्य भएको देखाई नभए/नगरेको कार्य बापतको झुट्टा बिल, भरपाई बनाई बढी मूल्याङ्कन गराई नेपाल सरकार र विद्यालयको कोषलाई गैरकानुनी हानि पुर्याउने बदनियतले भुक्तानी लिने/दिने कार्य गरेको देखिएको अख्तियारले जनाएको छ।
अख्तियारले राजपुर नगरपालिका नगर कार्यपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर उपर आरोपपत्र दायर गरिएको हो। राजपुर नगरपालिकाका तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल,जनता (नमूना) माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र तथा ,जनता (नमूना) माध्यमिक विद्यालयका लेखापाल शेख जहिर उपर आरोपपत्र दायर गरिएको हो। उनीहरु उपर भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असूल उपर हुन मागदाबी अख्तियारले गरेको छ।


