पत्रकार जियालाल साहविरुद्ध दायर चारवटै मुद्दा खारेज

साझेदारी डेलि
89 पाठक संख्या

वीरगञ्ज । पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका निलम्बित नगरप्रमुख राजेशमान सिंहले पत्रकार जियालाल साहविरुद्ध दायर गरेका चारवटै मुद्दामा अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै साहलाई पूर्ण रूपमा सफाइ दिएको छ ।

न्यायाधीश मोहन सुवेदीको इजलासले लिखित बेइज्जती, विद्युतीय कारोबारसम्बन्धी कसुर, वैयक्तिक प्रतिष्ठा तथा बेइज्जती, साथै अदालतको अवहेलनासम्बन्धी अभियोगमा पर्याप्त प्रमाण प्रस्तुत हुन नसकेको निष्कर्ष निकाल्दै सबै मुद्दा खारेज गरेको हो।

पत्रकार साहले २०८० पुस २४ गते प्रकाशित गरेको खोजमूलक समाचारमा राजेशमान सिंहले अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाई किर्ते जन्मदर्ताको आधारमा नेपाली नागरिकता दिलाएको दाबी गरिएको थियो। उक्त समाचार सार्वजनिक भएपछि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय पर्सा तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाबारे अनुसन्धान अघि बढाएका थिए।

समाचार प्रकाशनपछि सिंहले समाचार सामग्री र सामाजिक सञ्जालमा गरिएको साझा तथा प्रसारणलाई आधार बनाएर साहविरुद्ध चार फरक–फरक मुद्दा दायर गरेका थिए। अदालतले ती सबै मुद्दामा अभियोजन पक्षका दाबी प्रमाणित हुन नसकेको ठहर गर्दै पत्रकार साहलाई सफाइ दिएको हो।

यता, नागरिकता प्रकरणको अनुसन्धान पूरा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेशमान सिंहसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। आयोगले झुट्टा विवरणका आधारमा जन्मदर्ता र नागरिकता जारी गरिएको, त्यसपछि सरकारी अभिलेख नष्ट, हेरफेर तथा तथ्य लुकाउने प्रयास भएको आरोप लगाएको छ।

उक्त भ्रष्टाचार मुद्दा हाल विशेष अदालतमा विचाराधीन रहेको छ। पत्रकार साहले आफूमाथि लगाइएका चारै मुद्दाबाट सफाइ पाएसँगै सार्वजनिक सरोकारका विषयमा गरिने खोज पत्रकारिताको कानुनी संरक्षण र प्रेस स्वतन्त्रताका दृष्टिले यस फैसलालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

Leave a review

This will close in 0 seconds