सर्लाही । प्रेमिकालाई आफू भएको ठाउँमा बोलाइदिनुपर्ने र विवाह गराइदिनुपर्ने माग राख्दै ८० मिटर अग्लो नेपाल टेलिकमको टावरमा चढेका सर्लाहीका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
गोडैता नगरपालिका–९ बकैनियाका करिब २४ वर्षीय अफसर आलम हुसैन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरमा रहेको टावरको टुप्पोमा पुगेका थिए। उनले बिहान करिब ४ बजे एक साथीलाई फोन गरी आफू टावरमा रहेको बताएपछि घटनाबारे प्रहरीलाई जानकारी भएको थियो।
टावरबाट हुसैनले प्रेमिकालाई त्यहीँ बोलाइदिन र विवाह गराइदिन माग गर्दै आफूलाई तल झार्न खोजिए हामफाल्ने चेतावनी दिएका थिए। प्रहरीका अनुसार उनी सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत छन् र सोही कलेजमा अध्ययनरत एक युवतीसँग प्रेम सम्बन्धमा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनाको जानकारी पाएपछि डीएसपी वेदप्रसाद गौतमको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको थियो। सुरक्षाकर्मीले लामो समयसम्म फोनमार्फत सम्झाइबुझाइ गरे पनि उनी तल झर्न मानेका थिएनन्।
पछि प्रहरीले उनका बुवा र दाजुलाई घटनास्थलमा बोलाएर टेलिफोनमार्फत कुराकानी गराएपछि हुसैन टावरबाट सुरक्षित रूपमा तल ओर्लिएका हुन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
हुसैन राति नै टावरमा चढेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


