सिमरा । सर्पदंशका घटना बढ्दै गएपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालबाटै सर्पदंश उपचार सेवा उपलब्ध गराउने तयारी थालेको छ। सेवा सञ्चालनका लागि आवश्यक सरकारी स्वीकृति र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिसम्बन्धी प्रक्रिया अघि बढाइएको हो।
नेपाल सरकारको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्पदंश तथा रेबिजसम्बन्धी तालिममा सहभागी हुन जीतपुरसिमरा नगर अस्पतालका स्वास्थ्यकर्मीलाई जनकपुरधाम बोलाएको छ। अस्पतालका चिकित्सक डा. सुरज साह र हेल्थ असिस्टेन्ट दिपेन्द्र चौधरी तालिममा सहभागी भइरहेका छन्।
प्रादेशिक अस्पताल जनकपुरधामको सभाहलमा असोज २ र ३ गते सञ्चालन हुने तालिममा सहभागी भएपछि सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि आवश्यक बाँकी प्रक्रिया अघि बढाइने नगर प्रमुख राजन पौडेलले बताए।
यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले नगर अस्पतालको स्थलगत निरीक्षणसमेत गरिसकेको छ। टोलीले सर्पदंश उपचार सेवा सञ्चालनका लागि अस्पतालमा उपलब्ध पूर्वाधार, उपकरण तथा आवश्यक मापदण्डको अवस्थाबारे अध्ययन गरेको थियो।
नगर अस्पतालमा सर्पदंशका गम्भीर बिरामीको उपचारमा प्रयोग हुने भेन्टिलेटर उपलब्ध रहेको र नयाँ भवनमा समेत भेन्टिलेटर जडान भइसकेको अस्पताल पक्षले जनाएको छ। आवश्यक जनशक्तिलाई तालिम दिएर स्वीकृति प्रक्रिया पूरा गर्न सके नगर अस्पतालबाटै सर्पदंशको उपचार सुरु गर्न सकिने बताइएको छ।
सर्पदंश उपचार सेवा सञ्चालनमा आएमा जीतपुरसिमरा उपमहानगरपालिकाका साथै आसपासका क्षेत्रका बिरामीलाई पनि आकस्मिक अवस्थामा तत्काल उपचारको पहुँच पुग्ने अपेक्षा गरिएको छ।

