बारा । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व छठको पावन अवसरमा बाराको कलैया उपमहानगरपालिका–१३ स्थित बलिरामपुरमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्।
भिजन ग्रुप बलिरामपुरको आयोजनामा पहिलोपटक बिहीबार सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ३० जना युवाहरुले रक्तदान गरेका हुन्।
रक्तदानमार्फत मानवीय सेवा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। रक्तदान गराई अमुल्य सहयोग पुर्याएको भन्दै नेपाल रेडक्रस सोसाइटी, पर्सा जिल्ला शाखाले भिजन ग्रुप बलिरामपुरलाई प्रशंसापत्र प्रदान गरेको छ।
रक्तदान कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी, कलैया उपमहानगरपालिका–१३ का वडा अध्यक्ष राजेश महतो खत्रीलगायत स्थानीय युवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।



