रौतहट जिल्लाका एक जना कोरोना संक्रमितको बुधबार बीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट परोहा नगरपालिकाका ३६ वर्षका पुरुष रहेको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बीरगञ्जमा उपचारको क्रममा मृत्य भएको जानकारी गराएका छन । कोरोनाबाट मृत्यु भएका ती पुरुष भारतमा निधन भएका आफ्ना दाइको अन्तिम संस्कारमा सहभागी हुन भारत गएका थिए ।
भारतबाट फर्केर आएका ती पुरुष नगरपालिकाकै क्वारेन्टाईनमा बस्दै आएकोमा उनमा कोरोना सँक्रमण भएको पुष्टि भएपछि गत असार २९ गते बीरगञ्जको नारायणी अस्पताल मातहत रहेको अस्थायी कोभिड बिशेष अस्पतालमा भर्ना गरिएको थियो ।
बुधबार बिहान अचानक श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालको भेण्टिलेटरमा राखिएको थियो । सोहीक्रममा उनको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३९ पुगेको मन्त्रालयका प्रबक्ता डा.गौतमले बताएका छन ।