रञ्जन यादब/
जगदम्बा स्टिल सिमरा बाराका ६ जना कोरोना भाईरस संक्रमित मजदुरहरु फरार भएका छन् । मङगलबार उद्योगका ११ जना मजदुरमा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो । जसमध्ये ६ जना भारतीय मजदुरहरु अहिलेसम्म फरार रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।
फरार भएका ६ जना संक्रमित ब्यक्तिहरुको मोबाईल नम्बर सहितको बिवरण उद्योगलाई सार्बजनिक गर्न निर्देशन दिईएको छ । स्थानीय प्रशासन वा स्वास्थ्य संस्थामा सम्पर्कको ब्यवस्था गर्न लगाई आईससोलेसनमा राख्ने ब्यवस्था मिलाउन उद्योगलाई भनिएको छ ।
दुई दिन भित्र संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको स्थान बिशेष सहितको बिवरण उद्योगलाई सार्बजनिक गर्न जिल्ला प्रशासनले पत्र लेखेको छ । कन्ट्याक्ट ट्रेसिङगका अधारमा सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरी पिसिआर परिक्षणको ब्यवस्था मिलाउन उद्योगलाई भनिएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउँनुभयो ।
कामदारहरुको पिसिआर परिक्षण नहुँदासम्मको लागि उद्योगमा निशेधाज्ञा लागु गरिएको छ । उद्योगका मजदुर तथा कर्मचारीलाई भित्रै राखि निशेधाज्ञा अवधिसम्म भित्रबाहिर आवतजावत गर्न निशेष गरिएको छ । एउटा गेटबाट मात्र खाना र पानीको ब्यवस्था भित्र रहेका मजदुर तथा कर्मचारीलाई गर्न निर्देशन गरिएको छ । हिजो राति जगदम्बा स्टिलले ट्रकमा लुकाएर ल्याएका २५ जना मानिसबाट उद्योग चलाउन खोज्दा स्थानीयले बिरोध गरेका थिए ।
ट्रकमा ल्याईएका पिसिआर परिक्षणबिनाको मजदुरहरुलाई प्रहरीको रोहबरमा स्थानीय होटलमा क्वारिन्टनको ब्यवस्था गरिएको थियो । आक्रोसित स्थानीयहरुले उद्योगमा ताल्चा लगाई साँचो जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देबी चौधरीलाई बुझाएका थिए ।