बारामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु १७ जना गम्भिर घाईते

संदिप प्रसाद यादव
2.8k पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ अन्तर्गत पुर्व पश्चिमलोक मार्ग सडकखण्ड चुरियामाई मन्दिर नजिक तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु सनाखत भएको छ भने १७ जना गम्भिर घाईते भएका छन् । मृतकमध्ये ६ जना भारतीय र एक जना नेपाली रहेका छन् ।

काठमाडौंबाट जनकपुर तर्फ जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस गए राति बुधबार करिब २ः३० बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक नेपालीसहित सात जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपाने बताएका छन् । चालकसहित २६ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १० देखि १५ मिटर दक्षिण तर्फको खोलामा खसेको थियोे । घाईतेहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा १७ जना घाइते हुनेमा भारत राजस्थानका ४८ वर्षीय घनश्याम चतुर्वेदी,५३ वर्षीय माया देवी,३५ वर्षीय अनिल कुमार,५० वर्षीय तारावती चुतर्वेदी,४८ वर्षीय श्यामलाल माली,४७ वर्षीय हरवारी माली,७० वर्षीय चौथी देवी,७२ वर्षीय सुरेश चन्द्र चक्रवर्ती,७३ वर्षीय राम प्रसाद,६३ वर्षीय धरम सिंह,६० वर्षीय इन्दु धाकद,रामकुमार चतुर्वेदी,१६ वर्षीया गर्बिदा चतुर्वेदी र ९ वर्षीया क्रितिका चतुर्वेदी रहेका छन् । यसैगरी महोत्तरी जलेश्वरका ३८ वर्षीय बिहारी मुखिया,धनुषा मौवा गाँउपालिका १८ का ४१ वर्षीय घुरन मण्डल,महोत्तरी लोहारपट्टी ५ का २६ वर्षीय जसबेन्दर पासवान घाइते मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह,६५ वर्षीया मिरा देवी,बैजन्तीदेवी,श्रीकान्त चतुर्वेदी,राजेन्द्र चतुर्वेदी,सत्यवती र महोत्तरी लोहारपट्टीका ४१ वर्षीय बिजय लाल पण्डितको दुर्घटनामा परी मृत्यु भएको छ ।

दुर्घटनाका क्रममा घाइते भएकाहरूका अनुसार ड्राइभरले रक्सी सेवन गरेर गाडी चलाएका थिए । राती होटेलमा खाना खाने क्रममा ड्राइभरले रक्सी खाएको घाइते मध्येका धरम सिंहले प्रहरीलाई बताएका छन् ।

होटेलमा मदिरा सेवन गरि सकेपछि ड्राइभरले बस द्रुतगतिमा चलाएको र चुरियामाई मन्दिर ओरालोमा आएपछि आफू हाम फालेर भागेको सिंहले बताए । सवारी चालकको लापरबाहीले दुर्घटना भएको उनको भनाइ छ ।

दुर्घटना पछि बसका चालक,सह-चालक र खलासीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान कार्य भई रहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds