वीरगञ्जका सरकारी अस्पताल र स्वास्थ्य संस्थामा मानसिक रोगको उपचार नहुने गरेको भएपनि मंगलबार परेको बिश्व मानसिक स्वास्थ्य दिवस भने विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
मानसिक रोगको उपचार नगर्ने गरिएको भएपनि वीरगञ्ज महानगरपालिकाले भने दिवसको अवसरमा कार्यक्रमको आयोजना गरि मनाएको छ ।
दिवसको अवसरमा महानगरको स्वास्थ्य शाखाले घण्टाघरमा कार्यक्रमको आयोजना गरि मनाएको हो । तर पर्सा जिल्लामै सरकारी स्वास्थ्य संस्था वा अस्पतालहरुमा मानसिक रोगको उपचार भने नहुने गरेको पाइएको छ ।

सदरमुकाम वीरगञ्जमा रहेको मधेस प्रदेशकै ठुलो अस्पताल नारायणी अस्पतालमा पनि मानसिक रोगको उपचार नहुने गरेको पाइएको छ ।
यस्तै महानगरका स्वास्थ्य सँस्थामा आउने मानसिक बिरामीहरुलाई नेशनल मेडिकल कलेजमा रिफर गर्ने गरिएको महानगरले जानकारी दिएको छ ।
महानगरका स्वास्थ्य चौकीहरुमा आउने मानसिक रोगका बिरामीलाई चेकजाँच गरि उपचारको लागि नेशनल मेडिकल कलेजमा पठाउदै आएको महानगरका स्वास्थ्य शाखाका प्रमुख अनिल यादवले जानकारी दिए ।
उनले बिश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा कार्यक्रम गरेर मनाएको जानकारी दिए ।
वीरगञ्जकै नारायणी अस्पतालमा भने एक जना नवौ तहको डाक्टरको दरबन्दी भएपनि डाक्टर नपाउदा त्यहाँ पनि मानसिक रोगी उपचार नहुने गरको पाइएको छ ।
बिगत दुई बर्षदेखि मानसिक रोगका डाक्टर नहुदा मानसिक रोगीको उपचार नारायणी अस्पतालमा बन्द रहेको पाइएको छ ।
अस्पतालमा डाक्टर नभएकाले मानसिक रोग बिभाग बन्द अवस्थामा बिगत दुई बर्षदेखि रहेको नारायणी अस्पतालका सुचना अधिकारी डा.उदय नारायण सिँहले जानकारी दिए ।
अस्पतालमा डाक्टर नहुदा ईमरजेन्सीमा आउने मानसिक रोगीलाई फिजिसियन डाक्टरले नै हेरेर उपचार गर्ने गरेको तथा अन्य अस्पतालमा रेफर गर्ने गरेको उनले बताए ।
दुई बर्ष अघि सम्म नारायणी अस्पतालमै मानसिक रोगका एक जना डाक्टर भएपनि उनी सरुवा गराएर गएपछि अस्पतालमा मानसिक रोगको उपचार बन्द भएको डा.सिँहको भनाई छ ।
डाक्टर खोज्दा पनि मानसिक रोगका डाक्टर सरकारी अस्पतालमा काम गर्न नचाहने गरेकाले मानसिक रोगीको उपचारमा समस्या हुदै आएको उनले बताए।
मधेसकै ठुलो सरकारी अस्पताल नारायणीमा प्रदेशका आठवटै जिल्लाका मानसिक रोगीहरु आउने गरेको भएपनि त्यहाँ मानसिक रोगको उपचारको ब्यवस्था नहुदा उनीहरु बढी शुल्क तिरेर निजी क्लिनिक अथवा अस्पतालमा उपचार गराउदै आएका छन ।
तर,नारायणी अस्पतालमा नै भएको मानसिक रोगको बिभागमा डाक्टर राख्ने र उपचारको व्यवस्था मिलाउनेतर्फ भने कसैले हालसम्म ध्यान पु¥याएका छैनन् ।


