मध्य तराईका जिल्लाहरु अहिले अत्याधिक चिसो बढेको छ । चिसो बढेसंगै मध्यतराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ ।
केही दिनदेखी बाक्लो हुस्सु र शितलहर परेकाले आम जनताका दैनिकी कष्टकर भएको छ ।
अत्याधिक चिसोले खासगरी स–साना बालबालिका,वृद्धवृद्धाहरु र दैनिक ज्यालादारी गर्ने मजदुहरुलाई असर गरेको छ ।
चिसो बढेपछि बाराको विभिन्न स्थानीय तहहरुले चिसोका कारण विद्यालयहरुमा थप तीन दिनका लागि बिदा दिने निणर्य गरेका छन् ।
कलैया उपमहानगरपालिकाले थप तीन दिन जाडो विदा दिने निणर्य गरेको छ ।
कलैया उपमहानगर भित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयहरुमा माघ २ देखि ४ गतेसम्म जाडो बिदा गरिएको शिक्षा शाखाका प्रमुख उपसचिव प्रहलाद प्रसाद वर्णवालले बताएका छन ।
अत्याधिक जाडो भएको हुनाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले थप जाडो बिदा गरिएको शिक्षा शाखाका प्रमुख उपसचिव वर्णवालले जानकारी दिए ।यसैगरी जीतपुरसिमरा उपमहानगरले पनि सोमवार सूचना जारी गर्दै उपमहानगरका सवै सामुदायिक र संस्थागत विद्यालयहरुलाई माघ २ देखि ३ गते सम्म विदा दिने निणर्य गरेको छ ।
उपमहानगरका शिक्षा शाखा अधिकृत हरिश प्रसाद भट्टले सोमबार एक सूचना जारी गर्दै अत्याधिक चिसोका कारण उपमहानगर अन्तर्गत संचालित सामुदायिक तथा संस्थागत बिधालयमा माघ २ र ३ गते पठनपाठन बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
यसैगरी देवताल गाउँपालिकाले पनि सोमवार सूचना जारी गर्दै गाउँपालिकाका सवै सामुदायिक र संस्थागत विद्यालयहरुलाई माघ २ देखि ४ गतेसम्म थप विदा दिने निणर्य गरेको छ ।

