कलैया : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र कुमार मिश्रले बताएका छन्। साझेदारी राष्ट्रिय दैनिकका संवाददातासँग कुराकानी गर्दै प्रजिअ मिश्रले गृह मन्त्रालयबाट प्राप्त सुरक्षा योजनाका आधारमा जिल्लाको समग्र सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए।
जिल्लाको वस्तुगत अवस्था विश्लेषण गर्दै मतदान स्थल तथा केन्द्रहरूको भौतिक संरचना, विगतका घटना–परिघटना र वर्तमान सुरक्षा अवस्थाको मूल्यांकन गरिएको उनले जनाए। “जनतालाई सुरक्षित रूपमा मतदान गर्न पाउने प्रत्याभूति दिन हामी प्रतिबद्ध छौं। बारा जिल्लाको शान्ति सुरक्षा अवस्था सामान्य छ र यसलाई कायम राख्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिन्छ,” उनले भने।
प्रजिअ मिश्रका अनुसार बारामा ३०५ मतदानस्थल र ५८७ मतदान केन्द्र रहेका छन्। ती केन्द्रहरूमा करिब ३ हजार ६ सय जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ, तर जिल्लामा सोभन्दा बढी जनशक्ति उपलब्ध रहेको उनले बताए। जनशक्ति व्यवस्थापन समिति प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भई प्रमाणित सूची मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ। कर्मचारी खटनपटनको जिम्मेवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले सम्हालिरहेको छ।
मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीको व्यवस्थापन सम्पन्न भइसकेको जनाउँदै उनले ४ हजार ३४ जना निर्वाचन प्रहरीलाई तालिम दिई सम्बन्धित इलाका प्रहरी कार्यालयमा खटाइसकिएको उनले जानकारी दिए। उनका अनुसार सबै मतदानस्थल र केन्द्रलाई ‘अति संवेदनशील’, ‘संवेदनशील’ र ‘सामान्य’ गरी वर्गीकरण गरी सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको छ। मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पु¥याउनेसम्मको विस्तृत सुरक्षा योजना तयार गरिएको उनले बताए।
“मतदान स्थलबाट मतपेटिका लिएर जाने जस्ता गतिविधि कानुनविपरीत हुन्। यस्ता कार्य कसैले गर्न खोजेमा कडा कानुनी कारबाही गरिनेछ,” उनले स्पष्ट पारे। जिल्लाको समग्र सुरक्षा अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै उनले सामान्य झैझगडा र विवादबाहेक ठूला आपराधिक घटना नभएको बताए। हालै भएका दुई जघन्य घटना पनि सात घण्टाभित्र समाधान गरिएको उनले जानकारी दिए।
सवारी दुर्घटना न्यूनीकरण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले नागरिकहरूलाई ट्राफिक नियम पालना गर्न आग्रह गरे। “दुई पाङ्ग्रे सवारीसाधन चलाउँदा अनिवार्य रूपमा हेल्मेट लगाउने, दुई जनाभन्दा बढी नचढ्ने, तोकिएको गतिमा सवारी चलाउनेजस्ता नियम सबैले पालना गर्नुपर्छ,” उनले भने।
आचारसंहिता अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सदस्य रहेका छन्। आचारसंहिता उल्लंघनसम्बन्धी अनुगमन र प्रतिवेदन नियमित रूपमा भइरहेको उनले बताए। केही स्थानमा सवारीसाधनमा झण्डा झुण्ड्याउने, पोस्टर टाँस्ने तथा ब्यानर राख्ने कार्य भएको रिपोर्ट आएको र ती हटाउने काम भइरहेको उनले जानकारी दिए। उल्लंघन भएमा सम्बन्धित उम्मेदवारलाई जिम्मेवार ठहर गरी कारबाहीको सिफारिस गरिनेछ।
निर्वाचनलाई प्रभावित पार्ने गतिविधि रोक्न सामाजिक सञ्जाल निगरानी समिति पनि गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित समितिले सामाजिक सञ्जालमा हुने गतिविधिको निगरानी गरिरहेको छ। निर्वाचनलाई नकारात्मक असर पार्ने अभिव्यक्ति वा सामाजिक सद्भाव भड्काउने सामग्री भेटिएमा कानुनअनुसार कारबाही गरिने प्रजिअ मिश्रले चेतावनी दिए।सीमावर्ती क्षेत्रमा पनि विशेष निगरानी बढाइएको छ।
भारतको पूर्वी चम्पारण जिल्लाका प्रशासनिक प्रमुखसँग नियमित समन्वय भइरहेको र नक्कली मुद्रा तथा अवैध हातहतियार ओसारपसार रोक्न सीमा क्षेत्रमा कडाइ गरिएको उनले बताए।प्रजिअ मिश्रले मतदाताहरूलाई कुनै असुरक्षा महसुस भए तत्काल प्रशासनलाई जानकारी गराउन आग्रह गर्दै निर्वाचन प्रशासन र सुरक्षा निकाय दुवै पक्षबाट तयारी तीव्र रूपमा अघि बढिरहेको बताए। आचारसंहिता पालना गराउने जिम्मेवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाह गरिरहेको उनले जानकारी दिए।









