आरम्भ परियोजना सिकाई आदान प्रदान तथा समापन कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
1.1k पाठक संख्या

बारामा पाँच वर्षीय आरम्भ परियोजना सिकाइ आदान प्रदान तथा समापन कार्यक्रम सम्पन्न भएको छ ।

बाराको सदरमुकाम कलैया स्थित करण राज पार्टी प्यालेसको हलमा आयोजित आसमान नेपाल र सामााजिक संस्था जिल्ला समन्वय समितिको संयुक्त साझेदारी र युके एडको गल्र्स एजुकेसन च्यालेन्जको आर्थिक सहयोगमा तथा पीपुल इन नीड नेपालको प्राविधिक सहयोगमा पांच वर्षीय आरम्भ परियोजनाको सिकाइ आदान प्रदान तथा समापन कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्रकुमार साहको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।कार्यक्रमको उद्घाटन सभापति साहले पानसमा दीप प्रज्वलन गरी गरेका थिए ।

बाराको १२ पालिकामा विद्यालय बाहिर रहेका किशोरीहरूको सिकाइ अभिवृद्धि तथा शिक्षाको मूलधारमा समावेश गर्नका लागि आरम्भ परियोजना केन्द्रित रहेको थियो ।बाराको देवताल गाउँपालिका,सुवर्ण गाउँपालिका,आदर्श कोतवाल गाउँपालिका, पचरौता नगरपालिका,बारागढी गाउँपालिका,करैयामाई गाउँपालिका,बिश्रामपुर गाउँपालिका,फेटा गाउँपालिका,
प्रसौनी गाउँपालिका,महागढीमाई नगरपालिका,
सिम्रौनगढ नगरपालिका,परवानीपुर गाँउपालिका गरी १२ वटा पालिकामा आरम्भ परियोजना सञ्चालित रहेको आसमान नेपालका परियोजना संयोजक सुरेश ठाकुरले बताए ।

सन् २०१९ देखि सुरु भएको यो परियोजना सन् २०२३ को डिसेम्बरमा औपचारिक रूपमा सकिएको हो । तथापि केही समयका लागि परियोजना अभिलेखहरु संकलन,परियोजना द्वारा गरिएका गतिविधिहरुलाई सम्बन्धित पालिकाहरुलाई औपचारिक रुपमा हस्तान्तरण गर्ने तथा दीर्घकालिन रुपमा समेत लाभान्वित विधार्थीहरुलाई पालिकाहरुबाट सहयोग भईराखोस भन्ने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेको छ ।

१० देखि १९ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित विद्यालय बाहिर रहेको किशोरीहरुमा गणितीय शिक्षामा पहुंच र साक्षरता वृद्धि साथै जीवन उपयोगी सीपको विकास गरी जीवन स्तरमा सुधार गर्ने उद्देश्य बोकेको परियोजनाले पाँच वर्षको अवधिमा विद्यालय बाहिर रहेका किशोरीहरूको सामुदायिक सिकाइ केन्द्रमार्फत साक्षरता र गणित सीप विकास गर्ने एवंम भविष्यका लागि जीवन योजना बनाउने,जीवन उपयोगी सीपमार्फत किशोरीहरूको नेतृत्व,सञ्चार आदि सीपका साथै यौन तथा प्रजनन स्वास्थ्य,बालविवाह,आदिबारे ज्ञान दिने,सिकाइ केन्द्रको कक्षा पश्चात किशोरीहरूलाई विद्यालयमा भर्ना वा सीप सिक्नका लागि सहयोग गर्ने,विद्यार्थीलाई विद्यालयमा सिक्नका लागि अनुकूल वातावरण सिर्जना गर्ने,किशोरीलाई उमेर पुगेर मात्रै विवाह गर्न समुदाय र सम्बन्धित निकायलाई सकारात्मक सामाजिक मान्यताका लागि प्रोत्साहन गर्ने र सीप सिकेका किशोरीलाई व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्ने आदि महत्वपूर्ण कामहरू गरेको छ ।

सो परियोजनाले परियोजना अवधिभरमा ४ सय ६२ सिकाइ केन्द्र मार्फत ९ हजार ४ सय ९७ विद्यालय बाहिर रहेका किशोरीहरुलाई गणितीय शिक्षामा पहुंच,साक्षरता वृद्धि र जीवन उपयोगी सीपको विकासमा प्रत्यक्ष रुपमा सहयोग गरेको छ भने यस अवधिसम्म ४ हजार ९ सय ८६ किशोरीलाई विद्यालय भर्ना गराउन र २ हजार ३ सय ४७ किशोरीहरुलाई सिलाईकटाई,हाते कढाई, डल कुशन, अगरबत्ती,पशुपालन आदि विधामा सीप सिकाउन सफल भएको छ ।यसैबीचमा परियोजनाले २ सय ५२ किशोरीहरूको अपागता पहिचान गर्न र त्यसमध्ये ७७ जनालाई उपचारमा सहयोग पनि गर्न सफल भएको छ ।

त्यसैगरी परियोजनाले बालिका तथा किशोरीहरुलाई बिधालयमा भर्ना गराउन सहजीकरण तथा प्रोत्साहन,जीविकोपार्जनका लागि विभिन्न क्षमता अभिवृद्धि तालिमहरुको दौरानमा ७ सय ७३ जना सहजकर्ता,२ सय ९० चेन्ज च्यापिन्यन,२ सय ९६ मेन्टासको परिचालन समेत गरेको थियोे ।

परियोजनाले विद्यालय स्तरमा लैगिक रूपान्तरण कार्यशालामार्फत ८ हजार ७ सय ५१ विद्यालयका किशोरकिशोरीहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य,महिनावारी सरसफाई तथा स्वास्थ्य,विद्यालयभित्र सुरक्षा,लैंगिक हिसा, बालविवाह,नेतृत्वविकास आदि विषयमा सचेत बनाई विद्यालयमा समावेशी र सुरक्षित वातावरण तथा समुदायमा सकारात्मक परिवर्तनका लागि पहल गरेको थियो ।

परियोजनाले नेपाल सरकार शिक्षा तथा मानव स्रोत विभागको नेतृत्वका रहेको बालिका तथा समावेशी शिक्षा सञ्जाललाई केन्द्र,प्रदेश र पालिका स्तरमा लागू गर्न पनि महत्वपूर्ण भूमिका खेल्दै मधेश प्रदेशका ६२ सहित देशभरका ८२ स्थानीय निकायमा सञ्जाल गठन गर्न सफल भइसकेको छ ।

यस आरम्भ परियोजना सिकाई आदान प्रदान तथा समापन कार्यक्रममा स्थानिय निकायहरूका सहकार्यमा परियोजनाले १२ पालिकाहरूमा गरेका गतिविधिहरूवारे छलफल,परियोजना अवधिभर गरेका गतिविधिको प्रस्तुति तथा सरोकारवालाहरूसंग सिकाई आदान प्रदान गरेको छ ।

त्यसैगरी,सहजकता,चेन्ज च्यापिन्यन तथा केही बालवालिकाहरूलाई समेत सम्मान गर्दै तथा पालिकालाई कार्य पतिवेदन हस्तान्तरण गरेको थियोे ।

उक्त परियोजनाले उपलब्ध गराएको अवसरबाट क्षमतावान बनेकी किशोरीहरूले मञ्चमा माइक समातेर आफ्नो अनुभव सुनाएपछि कार्यक्रमका सहभागीले ताली बजाएर अभिनन्दन गरेका थिए ।

जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र कुमार साहले कार्यक्रमलाई सम्बोधन गर्दै हामीले सोचेभन्दा बढी प्रभावकारी भूमिका परियोजनाले खेलेको देखिएको छ, उनले भने,‘यो परियोजनाको निरन्तरता दिनु पर्ने अवस्था छ बारामा ।’ परियोजनाले अवलम्बन गरेको नीति नियमलाई पालिकाले अवलम्बन गरिदिए जिल्लाका कोही किशोरीहरू विद्यालय बाहिर रहने अवस्था नआउने सभापति साहले ठोकुवा समेत गरे ।

उक्त कार्यक्रममा पालिका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत तथा पालिकाका शिक्षा शाखा प्रमुख,शिक्षा संयोजक,महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख,जितेन्द्र यादव,रिना यादव,पुजा वर्मा,सहजकर्ता,चेन्ज च्यापिन्यन,आरम्भ परियोजनाबाट लाभग्राही किशोरी,बालबालिका तथा सन्चारकर्मीहरू लगायतका उपस्थिति रहेको थियोे ।

सो कार्यक्रमको संचालन आसमान नेपालका रचना बस्नेत र मनिषा यादवले गरेकी थिइन् ।

Leave a review

This will close in 0 seconds