बाराको निजगढमा कृपा दैनिकको २१ औँ बार्षिकोत्सव एक कार्यक्रम वीच शनिबार सम्पन्न भएको छ ।
बार्षिकोत्सवको उद्घाटन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष बस्नेतले नेपाली मिडिया संकटमा रहेको बताए ।
उनले सरकार र राजनैतिक दललाई सहयोग गरेको मिडिया यतिखेर संकटमा रहेको जनाए । उनले संकटबाट मुक्त गर्ने क्रियाकलाप न सरकारले गरेको छ न कुनै राजनीतिक नेतृत्वले गरेको छ, उनले भने । यस बिषयमा बोल्दा दुख लाग्ने गरेको उनले बताए ।
स्थानीय तहको विज्ञापन कर्मचारीहरुले कमिसनको लोभमा आफै दिने वा एजेन्सीलाई पठाउँने गर्दा पत्रकारहरुको घाउँमा झन पीडा थपेको उनले जानकारी दिए । स्थानीय तहका सूचनाहरु स्थानीय तहको पत्रपत्रिका र अनलाईनमा प्रकाशन र रेडियोबाट प्रसारण हुनुपर्ने उनको तर्क थियो ।
पाँच करोड भन्दा माथिका सूचनाहरु छन् भने राष्ट्रिय मिडियामा जाँदा हुन्छ उनले भने। तर नियम कानुनले पनि त्यो जान्नुपर्छ भन्ने कहिँकतैँ नबोलेको उनले बताए । पाठकले खोजी खोजी पत्रिका पढ्ने कन्टेन पत्रकारले दिन सक्नेमा उनले जोड दिए ।
जनप्रतिनिधि जितेर आएर जनप्रतिनिधि बनेको तर पत्रकार स्वतः जनप्रतिनिधि रहेको उनले तर्क गरे ।कार्यक्रमकाबीच कृपा दैनिकले बाराकी पत्रकार सारदा पोख्रेलसहित रौतहटका फणी महत र सर्लाहीका ओमप्रकाश ठाकुरलाई पुरस्कृत गरेको छ ।
कृपाद्वारा पोखरेललाई १० हजार राशीको चन्द्रप्रसाद खनाल स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरेको हो। महत र ठाकुरलाई ५० हजार राशीको उमादेवी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कारबाट संयुक्त रुपमा पुरस्कृत गरिएको थियो ।
कृपा दैनिकका प्रधान सम्पादक गोकुल घोरसाईनेको अध्यक्षतामा सो कार्यक्रम भएको हो । सो कार्यक्रममा बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनाली, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, कृपा दैनिकका संस्थापक सम्पादक कमलकुमार उपाध्याय, सम्पादक घोरसाईनेले नगद राशीसहित पत्रकारलाई पुरस्कृत गरेका थिए ।
कार्यक्रमको सञ्चालन कृपा दैनिकका सम्पादक कृष्ण उदास खनालले गरेका थिए ।


