बिहे गर्न आएका बेहुलाले सुनको सिक्री नपाएको भन्दै बिहे गर्न नमानेपछि पर्सा प्रहरीले बेहुलालाई पक्राउ गरेको छ ।
प्रहरीले बिहे गर्न नमानेको भन्दै बाराको कलैया उपमहानगरपालिका–४ निवासी उमेश साहलाई पक्राउ गरेको हो ।
साहको बिबाह फागुन २८ गते पर्सा वीरगञ्ज् महानगरपालिका २४ स्थित सुखल साहको छोरी रमिता कुमारी सित हुने तय थियो ।
साह जन्ति लिएर बेहुलीको घरमा आएका थिए । सुनको सिक्री आफुलाई चाहिएको भन्दै बिहे नगरी फर्किएका थिए ।
सुनको सिक्री नपाएको निहुँमा बिहे नगरी फर्किदै गरेका बेहुला साह सहित आधा दर्जनलाई प्रहरीले पक्राउ गरेकोे पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा बेहुलाका आफन्तजनहरु रहेको प्रहरीले जनाएको छ ।बेहुली पक्षले पहिले नै १२ लाख नगद मोटरसाईकल समेत दिएको भन्दै थप केही कुरा दिन नसक्ने बताएको थियो ।बेहुला साहले सुनको सिक्री चाहिएको बताईरहदा बेहुली पक्षले भने उनलाई मनाउन लागेका थिए ।
बेहुली पक्षका अनुसार केटा पक्षलाई सुनको सिक्री दिने यसअधि सहमति नै नभएको बेहुली रमिताले बताईन ।सुनको सिक्री नपाएको निहुँमा जन्ति लिएर घर फर्किन लागेका बेहुला सहित ६ जनालाई पर्सा प्रहरीले राति नै पक्राउ गरेको छ ।
सुनको सिक्री नपाएको निहुँमा बिहे नगर्ने भनेपछि बेहुला र बेहुली पक्ष दुबै बीच बिहानैदेखि वडा प्रहरी कार्यालय श्रीपुरमा बोलाएर छलफल गरिएको थियो ।तर त्यहाँ पनि सहमति नभएपछि अहिले बेहुलासहित ६ जनालाई नै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी प्रबक्ता थापाले बताए ।
उनले अहिले छलफलमा केही कुरा निस्किए साँझसम्म जानकारी गराउने बताए ।पक्राउ परेका बेहुला साह वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्पयुटर अपरेटर पदमा करारमा कार्यरत छन् ।
यता सुनको सिक्री नपाएपछि बेहुली रमिताले अब उक्त केटासित बिेह नगर्ने बताएकी छिन् ।उनले सुनको सिक्री नदिएकै निहुँमा झगडा समेत भएको बताईन ।‘अब म त्यस्तो फैमिलीमा जान चाहन्न, म चाहन्न कि त्यस्तो केटासित मेरो बिहे होस ,मलाई सामाजिक फैमिली चाहिन्छ,उनले भनिन ।’
रमिता पनि नारायणी अस्पतालमा ल्याब टेक्निसियनमा कार्यरत कर्मचारी हुन् ।रमिताका आमाले सुनको सिक्री नदिने भनेपछि आफनो छोराको घाँटी समातेर कुटपिट गरेको बताईन ।
मधेसमा बिहे गर्ने बेलामा दाईजो स्वरुप ठुलो रकम लिने परम्परा बसिसकेको छ ।सामान्य परिवारदेखि लिएर धनाढय समेतले बिहेमा दाईजो लिने गरेका छन् ।कम पढेका नपढेका होस वा बढी पढे लेखेका सबै जनाले दाईजो लिदै आएका छन ।
दाईजोकै निहुँमा कतिपय बिहे नै भाँडिने गरेको छ ।सुनको सिक्री नपाएको निहुँमा बिहे नगरी फर्केका बेहुला साहलाई कारवाही गर्नूपर्ने भन्दै अहिले सामाजिक सञ्जालमा जोडदार आवाज उठिरहेको छ ।

