सिमराको सेज मैदानमा भएको प्रथम जितपुर सिमरा क्रिकेट प्रतियोगितामा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ ।
समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा उसले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा
जनकपुरले टस जितेर ब्याटिङ रोजेको हो ।
उसले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३२ रन जोडेको थियो । जनकपुरका लागि हिमांशु दत्तले २५ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले ४७ रन बनाए । जनकपुरका लागि अखिलेश ठाकुरले २५ रन बनाए । रुपेश यादवले अविजित १८ रन बनाए ।
चन्दन यादवले १७ र पर्शुराम यादवले १४ रन बनाए । भैरहवाका सन्तोष यादवले चार ओभरमा २२ रन खर्चेर चार विकेट हात पारेका थिए । भैरहवाका अजय चौहानले दुई र इकलख वर्सीले एक विकेट लिए ।
जनकपुरले दिएको १३३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भैरहवाले १७.६ ओभरमा नौ विकेटको नोक्सानमा ८४ रन बनायो । भैरहवाका लागि अमर मिश्रले सर्वाधिक २५ रनको योगदान गरे । प्रकाश गिरीले १४, सन्तोष यादवले १३, मनिष थापाले १२ रनको योगदान गरे ।
निश्चल चौधरीले १० रन बनाए । अन्तिम विकेटका रुपमा रहेका महेश भार घाइते भएका कारण भैरहवाले ९ विकेटमै इनिङ समाप्तिको घोषणा गरेको हो । जनकपुरका रुपेश यादव, रोहन यादव र अभिजित मण्लले समान दुई विकेट लिए । बिशाल सुस्लिङ, साइमोन रोय, बी धवन सहनीले समान एक विकेट हात पारे ।
जनकपुरका कप्तान दत्त ‘शुभारम्भ प्लेयर अफ दि म्याच’ घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका १४ की वडाध्यक्ष चयन गुरुङले पुरस्कृत गरेकी थिईन् ।
जीतसंगै जनकपुरले प्रतियोगिताको फाइनलमा पुग्ने आशा जिवित राखेको छ । पहिलो खेलमा मकवानपुरसंग ३१ रनले पराजित भएको जनकपुरलाई प्रतियोगिताको उपाधि होडमा उभिन भैरहवाविरुद्ध फराकिलो जीत आवश्यक थियो ।
अब भैरहवालाई पनि प्रतियोगिताको फाइनलमा पुग्न समूह ‘बी’ को अन्तिम खेलमा मकवानपुरलाई फराकिलो जीत निकाल्नुपर्ने हुन्छ । अन्तिम खेलमा भैरहवा बिजयी भए रनरेटका आधारमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । मकवानपुरले जीत हात पारे भनेसमूह विजेता हुँदै उसले पर्सा क्रिकेट संघसंग फाइनल खेल्नेछ ।
प्रतियोगिता फाइनल खेल चैत्र १० गते हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा सो प्रतियोगिता यहाँ सञ्चालनमा रहेको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।
तस्वीरः म्यान अफ द म्याचको पुरष्कार दिइदै


