निर्वाचन गराउन नसक्ने आठ जिल्लाका पत्रकार महासंघका पदाधिकारीहरुको भनाई

साझेदारी दैनिक
239 पाठक संख्या

नेपाल पत्रकार महासंघको मधेश प्रदेशका आठ जिल्लाका पदाधिकारीहरुले वर्तमान अवस्थामा मधेश प्रदेशको जिल्ला शाखामा निर्वाचन गराउन नसक्ने बताएका छन् ।

प्रदेशका छ जिल्लाका अध्यक्ष तथा दुई जिल्लाका सचिवहरुले शनिबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी यस्तो जनाएका हुन् ।

विज्ञप्ति जारी गर्नेमा पत्रकार महासंघ पर्सा जिल्लाका अध्यक्ष अनुप तिवारी,बाराका अध्यक्ष रेशम तिवारी,रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, सप्तरीका अध्यक्ष श्रवणकुमार देव,सिरहाका अध्यक्ष मनोजकुमार वनैता,सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री,महोत्तरीका सचिव राजकरण महतो,धनुषाका सचिव वटुकनाथ झाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रिय निर्वाचन समितिले शुक्रबार निर्वाचन तालिकासंगै मतदाता नामावली सार्वजनिक गरेको प्रति मधेश प्रदेशका जिल्ला शाखाहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा लेखिएको छ ।

नेपाल पत्रकार महासंघको सुर्खेत साधारण सभाले सदस्यता शुद्धिकरण समिति बनाउदै जिल्ला शाखाहरुलाई निर्देशन दिएको सबैलाई अवगत भएकै हो विज्ञप्तिमा स्मरण गराइएको छ । त्यस अनुरुप देशभरिकै शाखाहरुले तनाव खेपेर भए पनि सदस्यता शुद्धिकरण गरेर पठाइएको जनाइएको छ ।

केन्द्रले आफुखुशी सदस्यता थप गरी निर्वाचन समितिलाई सदस्यता नामावली बुझाउनु विधानको वर्खिलाप भएको विज्ञप्तिमा ठहर गरिएको छ । यसले केन्द्रिय अध्यक्ष तथा महासचिव समग्र संस्था माथि भएको र निरंकुश बनेको विज्ञप्तिमा ठहर गरिएको छ ।

महिना दिन अघि सार्वजनिक गरिएको सदस्यता सूचिले ठूलो विवाद भइ महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी हुदा अध्यक्ष विपुल पोखरेलले सूचि अधिकारिक नभएको भन्दै विज्ञप्ति निकालेको पनि विज्ञप्तिमा स्मरण गराइएको छ ।

पोखरेलले निकालेको विज्ञप्तिमा सदस्यता नामावली सच्चाउने प्रतिबद्धता गरेर ताला खुलाइए पनि त्यही सूचि राखेर निर्वाचन समितिलाई बुझाउनुले केन्द्रले आफ्नो गलत चरित्रलाई आफै उदाङ्गो बनाएको विज्ञप्तिमा जनाइएको छ । जिल्लाले मेहनत गर्दै चुनाव गराएपछि केन्द्रिय समिति बन्ने हो ।

हरेक काम जिल्लाले गर्ने तर केन्द्रले मनोमानी गर्ने प्रवृतिले जिल्लाको अधिकारलाई धमिल्याउने प्रयास गरेको प्रष्ट भएको संयुक्त विज्ञप्तिमा लेखिएको छ । हामी पनि निर्वाचन चाहन्छौ विज्ञप्तिमा भनिएको छ ।

तर केन्द्रले बलजफति थपेका नामहरु नहटाइ,शुद्धिकरणको नाममा जिल्ला र प्रदेशले गरेको मिहिनतलाई बेवास्ता गरी थोपरिएको मतदाता नामावली र विधानलाई मिचि प्रकाशित निर्वाचन तालिका अनुसार निर्वाचनको कार्यक्रम अगाडी बढाइए मधेश प्रदेशका जिल्ला शाखाहरुमा निर्वाचन गराउन नसक्ने प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

Leave a review

This will close in 0 seconds