मधेश प्रदेशको सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिकाले आफ्ना गाउँपालिका भित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिर्ने भएको छ।
कृषि उत्पादन बढाउनका लागि किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले यस्तो निर्णय गरेको हो । कृषि विद्युतीकरण कार्यक्रम अन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्याउने निर्णय गरेको हो।
४० हजार जनसंख्या रहेको यस पालिकामा ९५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध छन् । सिँचाइको अन्य विकल्प नहुँदा किसानले डिजेलबाट चल्ने पम्पसेटबाट खेती सिँचाइ गर्दै आएका छन् ।
यसरी सिँचाइ गर्दा महँगो पर्न जाने किसानको गुनासो रहँदै आएको थियो ।
कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले यो अवधारणा ल्याएको गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरीले बताए ।
असार ७ गते सम्पन्न १० औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल ५० प्रतिशत गाउँपालिकाले तिरिदिने निर्णय गरिएको थियो ।
यो निर्णयबाट सम्पूर्ण किसान लाभान्वित हुने अपेक्षा गरेका छौँ,’ अध्यक्ष चौधरी भने । कृषि विद्युतीकरणबाट सिँचाइ गर्दा कम लागतमा धेरै सिँचाइ गर्न सकिने भएकाले साथै खेतिप्रति किसानको आकर्षणसमेत बढ्ने उनले विश्वास व्यक्त गरे ।


