बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी उनीहरुलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले कुटपिट मुद्दामा अदालतबाट तिन हजार दुई सय उन्नपचास रुपैया साठ्ठी पैसा जरिवाना पाएका जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी २८ वर्षीय धर्मेन्द्र सहनीलाई पक्राउ गरेको छ ।
त्यस्तै प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले लेनदेन मुद्दामा अदालतबाट १० हजार रुपैयाँ जरिवाना पाएका सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वा बस्ने अन्दाजी ४७ वर्षीय मिश्रीलाल साह कानुलाई पनि पक्राउ गरेको छ ।
त्यसैगरी अस्थाई प्रहरी पोष्ट ईनर्वासिराबाट खटिएको प्रहरीले लागु औषध मुद्दामा अदालतबाट २० हजार रुपैयाँ जरिवाना पाएका जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने अन्दाजी ५६ वर्षीय फजुल हक मियालाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत कलैयामा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

