विद्यालय भवन अलपत्र हुँदा ३ सय बालबालिका शिक्षाको पहुचबाट टाँढीदैँ

रञ्जन यादव
294 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा कक्षा १ देखि कक्षा ८ सम्म पठन पाठनका लागि निर्माण भएको विद्यालय भवन अलपत्र छ । भवन निर्माण हुँदा करिब ३ सय बालबालिका शिक्षाको नजिकको पहुचबाट टाँढीएका छन् ।

स्थानीय नेपाल राष्ट्रिय मावि भलुहीको २ तले भवन निर्माणका लागि जीतपुर सिमराले ३ वर्षअघि ६० लाख बजेट विनियोजन गरेर काम सुरु गरेको थियो । निर्माणाधीन सोही भवनमा पछि प्रदेश सरकारले पनि ५० लाख लगानी गर्यो ।

शिक्षा मन्त्रालयबाट पास भएको डिजाइनमा उपमहानगरले सुरु गरेको काम पछि प्रदेशले आफूखुसी लगानी गरेर डिजाइन बिगारेर काम अलपत्र छोडेको उपमहानगरको भनाइ छ ।

सवा करोड लगानी भइसकेको अपुरो विद्यालय भवनको अझै पनि सम्पन्न भए आफ्ना छोराछोरीलाई पढ्न पठाउने अभिभावकहरूको भनाई छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २३ का वडाध्यक्ष मुस्तफिक अन्सारीले विद्यालय निर्माणमा कुनै समस्या भए बाटो खोलिदिने काम उपमहानगरले गरिदिनुपर्ने बताउँछन् । भवन निमार्णका लागि वडाले उपभोक्ता समितिलाई जिम्मा दिए पनि उपभोक्ताहरूले भने ३ वटा ठेकेदार मार्फत काम गराएका थिए ।

सो भवन निर्माणको क्रममा उपमहानगरको बजेटबाट जग उठाउने र पर्खाल र छत ढलानको काम भने प्रदेशको बजेटबाट भएको वडाध्यक्ष अन्सारीले बताए ।

उपमहानगरका इन्जिनियर सञ्जीव रुपाखेतीले शिक्षा मन्त्रालयबाट पास भएको डिजाइनमा उपमहानगरले ६० लाख लागतमा उपभोक्ता समितिबाट काम गरिरहेको समयमा समन्वय नै नगरी प्रदेशले डिजाइन बिगारेर काम गर्दा समस्या भएको बताए ।

डिजाइन अनुसारका काम नभएको र विद्यालयको छत ढलानको क्रममा गुणस्तरहीन काम भएको भन्दै स्थानीयहरूले गत वर्ष बिचमै काम रोकेका थिए ।

सो विद्यालय भवन निर्माणको विषयमालाई लिएर पूर्व वडाध्यक्ष अस्लम देवान र बहालवाला वडाध्यक्ष मुस्तफिक अन्सारीबिच पनि एकले अर्कालाई काम गर्न नदिने खालको टसल देखिएको छ ।

पूर्व वडाध्यक्ष अस्लम देवानले अन्सारीको कार्यकालमा भएको छत ढलानमा गुणस्तरहीन काम भएको भन्दै ढलान भत्काएर पुन गर्नुपर्ने माग गरेका छन् ।

यता उपमहानगरका शिक्षा शाखाले भने वडा नं २३ का धेरै विद्यार्थी विद्यालय क्षेत्र बाहिर भएकाले तत्कालै केही निर्णय लिएर काम अगाडी बढाउनुपर्ने जनाएको छ ।

Leave a review