तीन दिनको अवधिमा पर्सा जिल्लामा चार जना अपरिचत ब्यक्तिको शव फेला परेको छ । जिल्लाको सदरमुकाम वीरगञ्जमा दुई जनाको शव फेला परेको हो ।
जगरनाथपुर गाउँपालिकामा दुई जनाको शव फेला परेको पर्सा प्रहरीले जनाएको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर १ विसनपुरुवाबाट भारतको नगरदाहतर्फ जाने बाटोको ओरिया खोला नजिकै नेपाल भारत सीमा दशगजाको ४२१÷५ नम्बरको सीमास्तम्भ नजिकै दुईवटा शव मंगलबार गाडिएको अवस्थामा फेला परेको हो ।
सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा शव गाडेको स्थानमा स्यालले खोतलेको भेटेपछि गएर हेर्दा शव फेला परेको हो ।
शव अन्दाजी ३५ बर्षको युवाको रहेको प्रहरीको भनाई छ ।इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंगबुढा थापाको नेतृत्वमा गएको प्रहरी टोलीले शव खनेर निकालेको छ ।
यस्तै सोमबार वीरगञ्ज महानगरपालिका– ११ रानिघाट नजैकै सिर्सिया नदीमा सोमबार दिउँसो अन्दाजी ५० वर्षजस्तो देखिने अपरिचित एक व्यक्तिको शव भेटिएको थियो ।
त्यस्तै आईतबार पनि वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित चौरमा २५ वर्षीय अपरिचित युवकको शव फेला परेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।


