करण कुमार मिश्र/
रौतहटमा एकजना प्रधानाध्यापकले विद्यालय भवन निर्माणका लागि आफ्नो लाखौ मूल्य पर्ने जग्गा दान दिएका छन ।
यसरी जग्गा दान गर्ने रौतहटको देवाही गोनाही नगरपालिका–७ आधारभूत विद्यालय उचिडीहका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहा रहेका छन । उनले विद्यालय भवन निर्माण गर्नका लागि केही दिनअघि मात्र आफ्नो ३० लाख मूल्य पर्ने १ कठ्ठा ७ धुर जग्गा विद्यालयलाई निःशुल्क दान गरेका थिए ।
बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच प्रधानाध्यापक कुशवाहालाई सोही विद्यालयको व्यवस्थापन समितिले सम्मान गरेको छ । विद्यालय भवन निर्माण गर्नका लागि आफ्नो लाखौंको जग्गा निःशुल्क दान गरेर उदाहरणीय एवम् प्रसंशीय काम गरेको भन्दै विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक कुशवाहालाई गम्छा ओढाएर मायाको चिनो र सम्मान पत्रसहित सम्मान गरेको हो ।
बालबालिकाको भविष्यसँग जोडिएको विद्यालयजस्तो संस्थालाई जग्गा उपलब्ध गराई प्रधानाध्यापक कुशवाहाले ऐतिहासिक काम गरेको भन्दै उनलाई समितिको तर्फबाट सम्मानित गरिएको समितिका अध्यक्ष विन्देश्वरी महतोले बताए ।
आधारभूत विद्यालय उचिडीहलाई लामो समयदेखि जग्गाको अभाव रहेको थियो । विद्यालय भवन निर्माणका लागि पर्याप्त जग्गा नहुँदा बालबालिकाको पढाइमा ठूलो कठिनाइ हुँदै आएको अवस्थालाई मध्यनजर गरी प्रधानाध्यापक कुशवाहाले जग्गा विद्यालयलाई उपलब्ध गराएको बताएका हुन् ।
विद्यालय भवनका लागि आफ्ना निजी जग्गा दान गरेको उच्च कदर एवम् मूल्यांकन गरी आम जनता पार्टीको देवाही गोनाही नगर कमिटी अध्यक्ष वीरवल महतोलेसमेत पार्टीको तर्फबाट उनलाई सम्मान गरेका थिए ।

