रौतहट,२० साउन । ओम प्रकाश यादव/ रौतहटमा बसको ठक्करबाट आइतवार एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका–८ जिंगडिया चोकमा बस र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार गरुडा नगरपालिका–७ पिपरीयाका रामचन्द्र राउतको ४० वर्षिय छोरा आशनारायण पटेलको मृत्यु भएको छ ।
आइतवार साँझ पौने ४ बजेको समयमा चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ना ७ ख १५२० नम्बरको यात्रुबाहक बसले विपरीत दिशा अर्थात गरुडाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बीआर ३० जेड ३०१६ भारतीय नम्बरको सुपर स्पलेण्डर मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक पटेलको घटनास्थलमै मृत्यु भएको छ ।
घटनालग्तै इलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरी टोलीले घटनास्थलबाट पटेललाई उद्धार गरी गरुडा स्थित ग्राण्डी हस्पिटलमा उपचारका लागि लगेको थियो तर हस्पिटलमा लग्नेवित्तकै चिकित्सकले पटेललाई मृत घोष्णा गरेका थिए ।
दुर्घटनाको एकिन कारण खुल्न नसकेपनि बसको स्टेरिङग फेल भएको देखिएकोले स्टेरिङग फेल भएकै कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
मोटरसाइकललाई ठक्कर दिने उक्त बसका चालक इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको छ । चालकको नाम र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटना हुनेवित्तकै बसका चालक बसबाट ओर्लेर घटनास्थलबाट नजिकै रहेको इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा पुगेका थिए ।
ठक्कर दिने बस र चालक गरुडा प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

