जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा हुने श्री शिव महापुराण ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ ।
पञ्चेश्वर महादेव मन्दिरको आयोजनामा वडा नम्बर २ नरबस्तिस्थित श्री पञ्चेश्वर शिवालय मन्दिरमा सो शिव महापुराण ज्ञान महायज्ञ हुने भएको हो ।
मन्दिरको जीर्णोद्धार तथा भौतिक संरचना सुधार गर्ने उद्देश्यका साथ आयोजनामा सो महायज्ञ हुनेछ । शिव महापुराण ज्ञान महायज्ञ भदौ २ गतेसम्म चल्नेछ ।
शिव महापुराणमा कथा वाचक नवराज अधिकारीले कथा बाचन गर्नेछन् । यसमा झाँकी तथा सङ्गीतमय कथा बाचन समेत गरिने आयोजक समितिका संयोजक वीरेन्द्र बास्कोटाले जानकारी दिए । उनले शिव महापुराणको उद्घाटनको दिन कलश यात्रा निकालिने बताए ।
महापुराणमा भाद्र १ गतेसम्म प्रत्येक दिन विहान ७ बजे देखि मध्यान्न १२ बजे सम्म पूजापाठ र मध्यान्न १ः३० बजे देखि ५ः३० बजेसम्म कथा वाचन हुनेछ ।
यसैगरी साँझ ८ बजे देखि महात्मिक कथा तथा झाँकी प्रदर्शन गरिनेछ । श्रावण २५ गते काल सर्प दोष शान्ति,भाद्र १ गते लक्षदीप प्रज्वलन रात्री जागरण र भाद्र २ गते स्वत तिला अर्पण तथा हवन कार्यक्रम हुने छ ।
शिव महापुराण आयोजना गर्न बास्कोटाको संयोजकत्वमा बिभिन्न उप समिति गठन गरिएको छ । संयोजक बास्कोटाले महायज्ञको सम्पुर्ण तयारी पुरा भईसकेको जानकारी दिएका हुन् ।

