शान्ति सुरक्षालाई चुनौती दिदै कलैयाको मुख्य बजारमा रहेको तीन वटा पसलमा पुनः चोरीको प्रयास

साझेदारी दैनिक
579 पाठक संख्या

कलैया : शान्ति सुरक्षालाई चुनौति दिदै बारा सदरमुकाम कलैयाको मुख्य बजारमा सोमबार राति तीन वटा पसलमा पुनः चोरीको प्रयास भएको छ।

चोरले नन्दलाल पान पसलको ताल्चा तोडी उनको पसलमा प्रवेश गरेको थियो। आफ्नो पसलमा के कति चोरी भयो सो उनले बताउन सकेनन्। नन्दलालको पसलको प्लाई उखाल्दै छिमेकी विजय जेनरल स्टोर्समा समेत चोरले चोरी गरेको छ।

नन्दलाल तथा विजय जेनरल्समा एक साता नवित्दै तीन पटक चोरी भएको छ। विजयको पसलमा तीन महिना यता छ पटक चोरी भइसकेको छ। सबै गरेर एक लाख भन्दा बढीको सामाग्री चोरी भएको विजय जेनरल्सको सञ्चालकको अनुमान रहेको छ।

ज्योति जेनरल स्टोर्स बाट समेत चोरीको प्रयास भएको छ। गत साता यस पसलबाट १५ हजार रुपैयाँ बराबरको भोला,रजनीगन्धा लगायतको चोरी गरेको थियो । यस पटक चोरले पसलको ताल्चा तोडन सकेन। यस पटक चोरले चप्पल,टर्च लाइट तथा रड लगायतको दशी छाडेको छ।

चोरलाई बजारमा रहेका प्रहरी नायब निरीक्षक विष्णु चौलागाईले लखेटेका छन् । लखेटने क्रममा चोर भाग्न सफल भएको उनले साझेदारी दैनिकलाई जानकारी दिए । एक ठाउँमा एउटा चोर र त्यस्को केही दूरीमा चार जना मानिस रहेको उनले जनाए । राति पौने १२ बजेको सो घटना भएको र कुकुरहरु अत्याधिक रहेकोले चोर भाग्न सफल भएको उनले जनाए।

चोरीको घटनालाई लिएर बारा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोदप्रसाद साह चिन्तित भएका छन्। उनले मंगलबार विहान पीडित व्यापारीलाई भेटदै सुरक्षाको आवश्यक प्रवन्ध गर्न आफुले पहल गर्ने जनाए । सबै व्यापारीहरु सावधान भइ चोरलाई पक्रन प्रयास गर्न उनले सुझाव दिए ।

यसै सन्दर्भमा सक्ने व्यापारीले आफ्नो पसलमा सिसिटिभि जडान गर्न आवश्यक रहेको एक व्यापारी जनाउँछन्। नगर प्रहरी र जनपद प्रहरीले यसमा विशेष ध्यान दिन आवश्यक रहेको उनी सुझाव दिन्छन्।

चोर समूहले बुधबार राति आधा दर्जन पसलमा चोरी गरेको थियो। कलैया उपमहानगरपालिका १ अवस्थित यो बजारमा प्रायः चोरी तथा चोरीको प्रयास हुने गरेको हो। रिया रेडिमेड पसलमा चोरी भएको हो ।

नेहा शु सेन्टरबाट चोरले एक जोर जुत्ता र एक जोर चप्पल चोरेको बताइएको छ। चोर समूहले गत साता रामचन्द्र साहको चिया पसलको ताला फुटाई गल्लामा रहेको करिब ४० रुपैयाँ चोरले लगेको थियो ।

केही समय देखि कलैया बजारमै यसरी चोरी भइरहेकोले शान्ति सुरक्षामा प्रश्न उठदै गएको छ । नगर प्रहरीलाई बजारमा रात्रिकालीन डयुटी दिनुपर्ने माग समेत उठदै गएको छ।

Leave a review

This will close in 0 seconds