कलैया,१७ असोज । बारा प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बस्ने अन्दाजी १८ वर्षीय साविर अंसारी र मोटरसाइकल पछाडी सवार पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २१ बस्ने अन्दाजी ५८ वर्षीय बिरेन्द्र साह रहेको प्रहरीले जनाएको छ ।
विशेष सुचनाको आधारमा बुधबार लागू औषध नियन्त्रण व्यूरो कार्यालय शाखा वीरगन्ज पर्सा र ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएका संयुक्त प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप महानगरपालिका वडा नम्बर ७ स्थित रहेको बैदेही पेट्रोल पम्प नजिक चेक जाच गर्ने क्रममा दुबै जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
वीरगन्जबाट जीतपुर तर्फ आउदै गरेको ना २२ प ९९९४ नम्बरको मोटरसाइकललाई रोकि चेकजाच गर्ने क्रममा पछाडी सवार बिरेन्द्र साहको पाइन्टको पकेटमा लुकाइ छिपाइ लगी रहेको लागूऔषध ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
उनिहरुको साथबाट लागूऔषध १० ग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए ।
लागूऔषध ब्राउन सुगरसहित दुबै जनालाई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट लागूऔषध मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य भइ रहेको प्रवक्ता सापकोटाले जानकारी दिएका हुन् ।

