सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा भारतीय नागरिकको जीवित उद्धार

संदिप प्रसाद यादव
378 पाठक संख्या

कलैया । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलिले एक भारतीय नागरिकको शनिबार राति जीवित उद्धार गरेको छ।

गलामा फाँसो लगाई आत्महत्या गर्न खोजेका अन्दाजी ३५ देखि ४० वर्षका भारतीय नागरिक धिरेन्द्र चौधरीको कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुरबाट जीवित उद्धार गरिएको हो।

बलिरामपुरमा निर्माणाधिन २४ मिटर अग्लो पानी टयांकीको १७ मिटरको उचाईमा पानी टयांकी निर्माणमा प्रयोग गरिएको बाँसमा डोरीको पासो लगाई आत्महत्या गर्न उनी झुण्डिएका थिए।

सोही अवस्थामा उनीसंगै काम गर्ने एक मजदुरले हल्ला गरेपछि सोही स्थानमा वस्ने एक व्यक्तिले गलाको पासो काटेका थिए।

पासो काटेपनि उद्धार गर्न नसक्दा ति व्यक्तिले त्यहाँ बेहोस अवस्थामा सुताई बसतपुर प्रहरी चौकीमा स्थानीयले खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाराबाट खबर गरे पश्चात सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा बल मटिअर्वा बाराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विदुर भट्टराईको कमाण्डमा खटेको पाँच जना सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक राधेश खत्रीको कमाण्डमा खटेको १० जना प्रहरी घटनास्थल पुगेको हो।

पानी टयांकीको बाँस तथा प्लाइउडको टुक्रामा अडकीइ बेहोस अवस्थामा रहेको चौधरीलाई विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीले उद्धार गरेका थिए।

हाल निजको उपचार राज्यलक्ष्मी अस्पताल कलैयामा भइरहेको र निजको अवस्था स्थिर रहेको बताइएको छ।

Leave a review

This will close in 0 seconds