रौतहट : ओम प्रकाश यादव/ रौतहटको तीनवटा वडाको वडा अध्यक्ष पदमा आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ।
जिल्लाको गढिमाई नगरपालिका – ८,राजपुर नगरपालिका–६ र इशनाथ नगरपालिका–७ को वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो।
विहान ७ बजेदेखी बेलुका ५ बजेसम्म भएको मतदान स्वच्छ,निष्पक्ष,भयरहित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिएका छन्।
जिल्लाको तिनवटै स्थानीय तहमा भएको निर्वाचनमा कहि कुनै प्रकारको धाधली,होहल्ला, झै–झगडा वादविवाद नभएको उनले बताए ।
निर्वाचनलाई लक्षित गर्दै तीनवटै स्थानीय तहको मतदान केन्द्रहरुमा विहानैदेखी बेलुकासम्म ठुलो सख्यामा नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो। कडा सुरक्षा प्रबन्ध मिलाइएका कारण निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको एसपी घिमिरेले बताए ।
मतदानमा मतदाताहरु उत्साहपूर्ण रुपमा सहभागी भई मतदान गर्न मतदान केन्द्रमा पुगेका थिए ।
गढिमाई नगरपालिका – ८ मा भएको मतदानमा ८१.३१ प्रतिशत मत खसेको छ। कुल मतदाता दुई हजार सात सय ५१ रहेकोमा दुई हजार दुई सय ३७ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालय विरनगराले जनाएको छ ।
त्यस्तै राजपुर नगरपालिका–६ मा कुल मतदाता संख्या २ हजार ५ सय ४६ रहेकोमा १ हजार ७ सय ६६ जनाले मतदानमा भाग लिएका छन। इशनाथ नगरपालिका–७ मा कुल मतदाता संख्या २ हजार ७ सय ७ रहेकोमा १ हजार ८ सय ७० जनाले मतदान गरेको बताइएको छ ।
तीनवटै ठाउँको मतपेटिका संकलन गर्ने काम सकिएको छ भने तिनवटै ठाउँको मतगणना शुरु गर्ने तयारी रहेको छ ।
यो समाचार तयार पार्दासम्म राजपुर नगरपालिका–६ र इशनाथ नगरपालिका–७ को मतगणना शुरु गर्न सर्वदलीय बैठक सकिएको छ। केहि बेरमै दुईवटै ठाउँको मतगणना शुरु गर्ने सहमति जुटेको प्रहरी श्रोतले जनाएको छ ।
त्यस्तै गढिमाई नगरपालिका – ८ को मतगणना सरु गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको जानकारी प्राप्त भएको छ । बैठक सक्ने वित्तिकै आइतबार राति करिव ९ बजेदेखी मतगणना शुरु गर्ने तयारी थालिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिएको छ ।
अहिले सर्वदलीय बैठक चलिरहेको बताउँदै डिएसपी कार्कीले सर्वदलीय बैठक सकेपछि बल्ल कतिबजेदेखी मतगणना शुरु गर्ने भन्ने कुरा थाहा हुने बताए।


