पथलैयामा घरनजिकै अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

साझेदारी डेलि
630 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित १ नम्बर पुल नजिक अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया निवासी जनकबहादुर थापाका अन्दाजी ५४ वर्षीय छोरा राम थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार साँझ करिब ६ बजे घरबाट करिब १०० मिटर पूर्वतर्फ थापा अचेत अवस्थामा लडिरहेको आफन्तले फेला पारेका थिए। घटनाबारे साँझ ६ः४० बजे प्रहरी चौकी पथलैयालाई जानकारी गराइएको थियो।

जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक युवराज दाहालको कमाण्डमा खटिएको टोलीले थापालाई उद्धार गरी उपचारका लागि सिमरा नगर अस्पताल पठाएको थियो।

अस्पताल पुर्‍याइएका थापाको शरीरमा बाहिरी चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। उनको साँझ ६ः५० बजे उपचारकै क्रममा चिकित्सकले मृत्यु घोषणा गरेका थिए। मृतकको शव हाल सिमरा नगर अस्पतालमै राखिएको छ।

घटनाको अनुसन्धान तथा आवश्यक मुचुल्का तयार गर्न इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

Leave a review