वीरगञ्ज : आफ्नो कार्य समय दुई घण्टा वीरगञ्जका दुवै भन्सार कार्यालयले थपेका छन्। भन्सार कार्यालयहरू विहान छ बजेदेखि राति १० बजेसम्म खुल्ने गरेकोमा अब विहान ५ बजेदेखि राति ११ बजेसम्म खुल्ने भएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले भन्सारको सेवा समय विस्तारको निर्णय गरेको हो। यस निर्णयसँगै वीरगञ्ज भन्सार नजिकै रहेको गेट बिहान ५ बजेदेखि राति ११ बजेसम्म खुल्ने जनाइएको छ।
नयाँ नियम लागू भएसँगै नागरिकहरूको आवतजावत सहज हुने विश्वास रहेको छ। विस्तारित समयावधिमा बैंक तथा अन्य सेवा पनि सुचारु रहने भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेले जनाए। “यो निर्णयले व्यापारी र यात्रु दुबैलाई सहजता दिनेछ ।”
उनले भने। भन्सार समय विस्तार गर्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले यस निर्णयको स्वागत गरेका छन्।
सङ्घको निरन्तर प्रयासले सफलता पाएकोमा उनले खुसी व्यक्त गरे। “भन्सार समय थपिँदा व्यापारिक गतिविधि सहज हुनेछ र सबैलाई फाइदा पुग्नेछ।”
अग्रवालले भने । यस निर्णयको जानकारी भारतीय महावाणिज्य दूतावासमार्फत भारत सरकारलाई पनि गराइएको छ। यसले रक्सौलतर्फको भन्सार गेट पनि बिहानै खुल्न मद्दत पुग्नेछ। रेल समात्न जाने यात्रुहरूलाई थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले निर्णयबाट स्थानीय व्यापारिक क्षेत्र र यात्रुहरूको समय बचत हुने विश्वास व्यक्त गरे। आर्थिक गतिविधि अझ सुदृढ हुने विश्वास उनको छ।
निर्णयले स्थानीय व्यापारी,उद्योगी,र यात्रुहरूबिच उत्साह थपेको छ । अब व्यापारिक प्रक्रियाहरू द्रुत रूपमा सम्पन्न हुने र नागरिकहरूले सहज सेवा पाउने वातावरण सिर्जना भएको जनाइएको छ।


