निजगढ : नवराज चौलागाईं / मधेश प्रदेश स्तरीय प्रधानमन्त्री कप महिला क्रीकेट प्रतियोगिताको खेल तालिका मधेश प्रदेश क्रीकेट संघले शनिबार सार्वजनिक गरेको छ।
मधेशको ८ वटा जिल्लालाई २ वटा समुहमा बिभाजन गरेर प्रतियोगिताको तालिका निकालिएको हो । प्रतोयोगिताको लागि समूह ए मा बारा,रौतहट,सर्लाही र महोत्तरी जिल्ला रहेकोछ। समूह बी मा पर्सा,धनुषा,सिराहा र सप्तरी रहेकोछ ।
पौष २२ गतेदेखि २९ गतेसम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु कलैया स्थित सिद्धेश्वर क्रीकेट मैदानमा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा पौष २२ गते बारा र सर्लाही भिडनेछन्।
लिग चरणको अंक तालिकामा पहिलो र दोश्रो स्थानमा रहने टोलि सेमिफाईनलमा प्रवेश गर्नेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेटेर प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रीकेट प्रतियोगिता खेल्ने मधेश प्रदेशको टोलि छनोट गरिनेछ।

