कलैया । बारा प्रहरीले अवैध समानसहित दुई ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले अवैध समानसहित दुई ट्रक नियन्त्रणमा लिइएको हो ।
गाडीहरूलाई रोकी चेकजाँच गर्ने क्रममा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. ३९ लाख ८४ हजार ७ सय ६० रूपैया बराबरको विभिन्न समानहरू सहित दुई वटा ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले आइतबार जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चौक स्थितमा खटिएको प्रहरी टोलीले विराटनगर बाट काठमाण्डौ तर्फ जादै गरेको प्र.०१-०२-००१ ख ८०८६ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा समान बरामद गरेको छ ।
सो ट्रकबाट लोड रहेको अन्दाजी मुल्य रु.३८ लाख १६ हजार ७ सय ६० रूपैया बराबरको इलेट्रिक सामन,कपडा,लगायत अन्य खुद्रा समानहरू बरामद गरिएको हो ।
त्यस्तै प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलिले महागढीमाई नगरपालिका वडा नं.२ ईनर्वा चोक स्थितमा खटिएको प्रहरी टोलीले तेलकुवाबाट बरियारपुर तर्फ जादै गरेको ना ७ ख ३४३९ नम्बरको मिनि ट्रकमा लोड रहेको आलु बरामद गरेको छ ।
सो मिनि ट्रकबाट अन्दाजी ७ हजार किलो आलु एक लाख अठसट्ठी हजार रूपैया बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त दुबै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

