रौतहट । रौतहटको मौलापुर नगरपालिका स्थित धार्मिक,सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न माग गरिएको छ ।
मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले पतरौ पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग गरेकी छन् ।
मधानी महायज्ञको बारेमा जानकारी गराउँनका लागि आज मौलापुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो माग गरेकी हुन् । पतौरा स्थित महादेव मन्दिर एवं महायज्ञ सरकारले वेवास्ता गरेको गुनासो समेत उनले गरिन् ।
‘पतौरा स्थित पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारसंग हाम्रो जोडदार माग गर्दछौं । यो धार्मिक, सांस्कृतिक,पर्यटकीय एवं ऐतिहासिक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गर्न सरकारले ध्यान देओस,’ मेयर साहले भनिन्, ‘यो पुरातात्विक मन्दिरको उत्खननको केन्द्र सरकारले गरिरहेको छ तर उसको काम ठिक छैन् । कहिले खन्ने कहिले छोड्ने काम गरेर बर्बाद गर्दैछ । सही तरिकाले काम गर्न हामी सरकारसंग आग्रह समेत गर्न चाहन्छौं ।’
मधानी महायज्ञ प्राचिन यज्ञ भएको बताउदै उनले यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको बताईन् । आउँदो फागुन ११ गतेदेखी सुरु हुन लागेको मधानी महायज्ञ पाँच दिनसम्म चल्ने छ ।
मेयर साहका अनुसार ११ फागुनमा उदघाटन समारोह,१२ फागुनमा शिव वारात यात्रा,१३ गते मधानी विशेष पुजा समारोह,१४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।
‘यो मन्दिर नेपाल सरकारको १०० वटा प्रमुख पर्यटकीय गन्तव्यमा समावेस भईसकेको छ । हजारौं बर्ष पुरानो प्राचिन ईतिहास बोकेको पुरातात्विक महादेव मन्दिरको अनौठो किसिमको महिमा र विशेषता छ ।
यहाँ गरिने भगवान शिवको पुजा अनुष्ठान पनि विश्वकै एक पृथक एवं मौलिक शैलिको रहेको छ,’ मेयर साहले भनिन्, ‘यस धर्तिमा लोक एवं मौलिक शैलिमा गरिने भगवान शिव पार्वतिको वैवाहिक उत्सवको रुपमा मनाइने धार्मिक अनुष्ठान मधानी हो । जसलाई यस धर्ति र क्षेत्रको विशेष अनुपम शिव अनुष्ठानको रुपमा लिईन्छ ।’
मधानी महायज्ञ आम जनता पार्टी (आजपा)का अध्यक्ष, संघीय सांसद तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ ।
यस अघि महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी देखी लिएर पशुपतिनाथका मुल भट्ट पुजारीद्धारा बिधिपुर्वक पुजा आराधना भएको थियो । प्रत्येक बर्ष बिभिन्न बिशिष्ट व्यक्तित्वको सहभागिता हुदै आएको छ ।
यस बर्षको मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरुको समेत सहभागिता हुदैछ । हिन्दी,भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन,भोजपुरी सिने जगतका लेखक,निर्माता तथा विधायक बिनय बिहारी,भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यसैगरी महायज्ञमा मिंटुवा भोजपुरीया (कलाकार),सुनील पंडित (गायक),अनु चौधरी (गायिका),सदाम हुसेन (कलाकार),रचना सिवाकोटी ( कलाकार),रुद्र नारायण तिवारी (गायक),प्रीति आर्या पासवान (कलाकार),प्रिया सुहानी (कलाकार),रोसनी राज (कलाकार),सरिता साह (कलाकार),अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार),मोनालिसा सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरु सहभागि हुने आम सांस्कृतिक मोर्चाका केन्द्रिय इन्चार्ज विजय यादव निर्विजले बताए ।
मधानी महायज्ञको तयारीका लागि बिभिन्न समितिहरु गठन गरी तिब्रगतिमा काम भईरहेको छ ।

