Sajhedari Daily
Latest News from Nepal

प्रदेश नम्बर दुईमा हरेक बर्ष बढ्दै छ सवारी दुर्घटना

Top Aside Banner

रञ्जन यादब/
प्रदेश नम्बर दुईमा हरेक बर्ष सवारी दुर्घटना घटनाहरु बढ्दो अवस्थामा छ ।प्रदेश दुई ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो तीन वर्षको तथ्याङ्कले सवारी दुर्घटनामा बृद्धि हुँदै गएको देखाएको हो ।

आर्थिक वर्ष ०७४।०७५ मा प्रदेशका ८ जिल्लामा एक हजार एक सय पाँच सवारी दुर्घटनामा तीन सय ९४ जनाको मृत्यु भएको छ भने, आर्थिक बर्ष ०७५।७६ मा ९ सय १४ सवारी दुर्घटनामा परी चार सय ९६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै आर्थिक वर्ष ०७६।७७ मा एक हजार तीन सय ४० सवारी दुर्घटनामा परी चार सय २० जनाको ज्यान गएको छ । यो संख्या आर्थिक वर्ष ०७५।७६ को सवारी दुर्घटनामा भन्दा ४६.६० प्रतिशतले बढि हो, भने मानिसको मृत्युमा १५.३१ प्रतिशतले कमि आएको छ ।

मानिसहरुमा जनचेतना भएको तर, कानुन कार्यन्वयन फित्तलो भएका कारण सर्वसाधारणमा मनपरि गर्ने प्रबृतिले दुर्घटनाको संख्यामा बृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर दुईका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक श्याम कुमार महतोले विहिवार साझेदारी दैनिकसंग कुराकानी गराउदै बताएका छन ।

यस चालु अर्थिक वर्षको असोजको दोस्रो हप्तासम्मको तथ्याँक अनुसार ६ महिनामा ६ सय ७९ दुर्घटनाबाट ७१ ले ज्यान गुमाई सकेको प्रमुख महतोले बताए ।