विवाद सल्टाएर निर्वाचन प्रकृया अगाडी बढाउन नेपाल प्रेस युनियन केन्द्रिय समितिले आग्रह गरेको छ ।
प्रेस युनियनका कार्यवाहक अध्यक्ष प्रेम केसीले शनिबार एक विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेका हुन् । विज्ञप्तिमा नेपाल पत्रकार महासंघको सदस्यतामा देखिएको विवादलाई विधान अनुसार टुंगोमा नपुर्याई महासंघले निर्वाचन कार्यतालिका र मतदाता नामावली सार्वजनिक गरेकोमा नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको लेखिएको छ ।
पत्रकार महासंघका शाखा र प्रदेशले सिफारिस गरेका सदस्यलाई हटाएर महासंघको केन्द्रीय समितिले कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति युनियनको असहमति रहेको विज्ञप्तिमा भनिएको छ ।
महासंघकै शाखा र प्रदेश समितिले पठाएको नामावलीलाई आधार मानेर छुटेका सक्रिय पत्रकारलाई महासंघको विधान,विधि,प्रक्रिया र मापदण्ड अनुसार समावेश गरी सदस्यता विवाद टुंग्याएर मतदाता नामावली सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि वढाउनुपर्नेमा महासंघले जवरजस्ती नामावली र निर्वाचन तालिका सार्वजनिक गरेकोमा युनियनले प्रेस विज्ञप्ति मार्फत खेद प्रकट गरेको छ । सदस्यता विवाद सुल्झाएर निर्धारित समयमा निर्वाचनको वातावरण बनाउन युनियनले अनुरोध गरेको छ ।
माग २४ घण्टा भित्रमा सम्बोधन नगरी पत्रकार महासंघले जवरजस्ती ढंगले एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा प्रेस युनियनले देशभर प्रतिवाद गर्न वाध्य हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
त्यसवाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयं पत्रकार महासंघले लिनुपर्नेछ । पत्रकार महासंघका शाखा र प्रदेश समितिले विधान वमोजिम सिफारिस गरेका सदस्य कायम गरी मतदाता नामावली सार्वजनिक गर्नुपर्ने माग विज्ञप्तमा गरिएको छ।
शाखा र प्रदेशको सिफारिसमा छुटेका सक्रिय पत्रकारलाई उजुरी,प्रमाणका आधारमा महासंघको विधान अनुसार सदस्यता नवीकरण तथा नयाँ सदस्यता दिनुपर्ने माग विज्ञप्तिमा गरिएको छ ।
महासंघको विधान,प्रक्रिया र मापदण्ड विपरित सार्वजनिक गरिएका सदस्यको नाम मतदाता नामावलीवाट हटाउनुपर्ने माग समेत विज्ञप्तिमा छ । विधि,प्रक्रिया नपुर्याई महासंघका सम्वन्धित शाखाको स्वीकृति विना काठमाडौं,भक्तपुर,ललितपुर लगायत देशभर स्थानान्तरण गरिएका सदस्यता खारेज गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ। मतदाता नामावलीको विवाद टुंगाएर मात्र निर्वाचन कार्यतालिका अघि वढाउनुपर्ने माग केसीले गरेका हुन् ।
विज्ञप्तिको बोधार्थ नेपाल पत्रकार महासंघ,केन्द्रीय निर्वाचन समिति–२०८१ लाई पठाइएको छ ।


